नेपाल समाचारपत्र, काठमाडौं ।
दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा यहाँ ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ ।
यही असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा ‘नेपाली भाषाको वर्तमान अवस्था र यसको महत्त्व’, ‘नेपालका भाषाहरुको साहित्यिक अवस्था र समृद्धिको यात्रा’, ‘भारत तथा म्यानमाको नेपाली समाजमा भानुभक्तलाई हेर्ने दृष्टिकोण’ र ‘राष्ट्र, राष्ट्रियता र नेपाली कला साहित्य’ विषयका कार्यपत्रसहित छलफल हुनेछ । सम्मिलनमा बहुसांस्कृतिक एवं साङ्गीतिक कार्यक्रम, बहुभाषिक कविगोष्ठी र हास्यव्यङ्ग्य साँझ हुनेछन् । तीनदिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला तथा ‘चन्द्रागिरिबाट समृद्धिको स्वर’ शीर्षकमा काव्यगोष्ठी पनि हुनेछ ।
प्राडा राजेन्द्र सुवेदीको संयोजकत्वमा २०५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिका सहसंयोजकमा प्रा डा बद्रीविशाल पोखरेल, तथा सदस्यमा डा विजय सुब्बा, प्रा डा कृष्णप्रसाद घिमिरे, डा विन्दु शर्मा, यशोदा अधिकारी, अनिल पौडेल, अशोक राई, श्याम रिमाल, दिनेश डिसी, देवी घिमिरे डा पुष्करराज भट्ट, फूलमान बल, श्याम सापकोटा, देशभक्त खनाल, प्रेमनाथ अधिकारी, युवराज बाँस्कोटा, शान्ता मानवी, वासुदेव अधिकारी, दयालबहादुर शाही, राम विनय र आरएम डंगोल तथा सदस्य सचिवमा डा. देवी नेपाल र कार्यालय सचिवमा जयन्ता पोखरेल र हरिप्रसाद भण्डारी हुनुहुन्छ ।
समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवं नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहनेछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री तथा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानका सल्लाहकार तथा पदाधिकारीलाई नेपालका सबै भाषाभाषी र सबै विधा समेट्न निर्देशन दिनुभयो । उहाँले सबै भाषाभाषी र स्रष्टालाई राष्ट्रको समृद्धि, विकास र सुशासनका लागि भाषा, चलचित्र, कला र संस्कृतिका माध्यमबाट आआफ्ना ठाउँबाट भूमिका खेल्नु आग्रह पनि गर्नुभयो ।
प्रधानमन्त्रीले नेपाली राष्ट्रियता र संस्कृतिको प्रवद्र्धन र जागरणमा भूमिका खेल्ने लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, गोकुल जोशी, पारिजात आदिका स्मृतिमा नेपाली, साहित्य, कला, पत्रकारिता आदि विषयमा नियमित रूपमा छलफल, बहस तथा भेटघाट भइरहनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष डा विजय सुब्बा, महासचिव डा देवी नेपाल र प्रा बद्रीविशाल पोखरेलले प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ अवधारणा लिएर विभिन्न कार्यक्रम गरेको र आगामी दिनमा नियमित रूपमा गरिरहने जानकारी प्रधानमन्त्रीलाई दिनुभयो । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष प्रा डा कृष्णप्रसाद घिमिरे तथा सल्लाहकार प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा भिक्टर प्रधान, शान्ता मानवी, दयालबहादुर शाही आदिको सहभागिता थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।