नेपाल समाचारपत्र, विराटनगर
हिन्दु धर्मावलम्बीहरुलाई क्रिस्चियन बनौं भनेर धर्म परिवर्तन गराउँदै हिडेका विराटनगर १५ का दीपु कर्मचारीलाई विराटनगर १२ का स्थानीय युवाले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् । विराटनगर १५ बस्ने ५० वर्षीय कर्मचारीलाई स्थानीय युवाहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाईदिएका हुन् ।
कर्मचारी इशाई धर्म लिँदा यो हुन्छ त्यो हुन्छ भनेर प्रलोभन देखाएर धर्मको प्रचार गरिरहेका थिए । स्थानीय खुश्बु कामतको घरमा आएर आफ्नो धर्म लिएर चर्च गए दुःख हरण हुने भन्दै आफ्नो धर्ममा आबद्ध हुन प्रलोभन देखाइरहेको अवस्थामा स्थानीय युवा अमितकुमार देवको अगुवाईमा उनलाई पक्राउ गरिएको हो ।
स्थानीय खुश्बु कामतले उनी आफ्नो घर आएर पहिले पानी खान मागेको र उनको धर्मका प्रचारहरु देखाउँदै यस्तो धर्ममा लाग्दा सबैको भलाई हुने भन्दै उनलाई यही धर्म अपनाउन करकाप लगाएको बताउँछिन् ।
यता कर्मचारीले भने आफूले उनीहरुलाई कुनै करकाप नलगाएको बताएका छन । उनले आफू यहाँ बारम्बार आएपनि कसैलाई प्रलोभनमा नपारेको खुलाउँछन् । उनले भने, ‘मैले उनलाई किताबमा यो यो छ भनेर खुलाउन मात्रै चाहेको हुुँ । म सर्बत्र खुशी देख्न चाहेकाले यस धर्मको प्रचार गरेको हो ।’ उनका अनुसार उनी विगत ६,७ वर्षदेखि यस धर्ममा आवद्ध छन् । उनी अहिले यस धर्मका लागि स्वयम्सेवकको रुपमा खटिएका छन् ।
यसैबीच यहीँ घटनाका विषयमा स्थानीय अमितले कर्मचारीलाई पक्रिएर लगातार प्रहरीको आपतकालिन फोन नम्बरमा सम्पर्क गरे । तर, डेढ घण्टा बितिसक्दा पनि आपतकालिन विभागबाट कोहीलाई नपठाएको र प्रहरी समयमा नआइपुगेको भन्दै स्थानीयले केहीबेर आक्रोश व्यक्त गरे ।
प्रहरीलाई धेरैअघिदेखि फोन गरेपनि प्रहरी भने करिब डेढघण्टा पछाडि पुगेको थियो । विराटनगर महानगरपालिका वडा नं १२ का प्रहरी उपरीक्षक धनबहादुर चौहानका अनुसार प्रहरी प्रशासनबाट ढिलो खबर आएका कारण आफ्नो टोली समयमा आइनपुगेको बताए ।
वडा कार्यालय १२ को प्रहरी टोलीले उनलाई पक्राउ गरेर लगेको छ । हाल नेपालमा बढ्दै गएको धर्म परिवर्तनलाई अपराध मानिने र कडा सजायको भागिदार हुनु पर्ने छ । सरकारले धर्मपरिवर्तनलाई फौजदारी अपराध बनाएपछि नयाँ कानूनको एक दफामा कसैले पनि धर्मान्तरणमा संलग्न हुन वा त्यसका लागि प्रोत्साहन गर्न हुँदैन भनी उल्लेख गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।