गणेश घिमिरे, इलाम
इलाम रोङ गाउँपालिका वडा नम्बर ६ रम्भ्याङका कृषकले स्थानीय घमसुरी कृषक समूहलाई गाउँमा उत्पादीत तरकारी बिक्रि बितरण गर्न थालेका छन् । स्थानीय कृषक समूहले स्थानीय कृषकहरुले उत्पादन गरेको तरकारी खरीद गरेर झापाको बजारहरुमा लगेर बिक्रि बितरण गर्न थालेको हो ।
बिगतमा उक्त क्षेत्रमा उत्पादीत तरकारी ब्यपारीले नै घर–घरमा आएर खरीद गरेर लाँदै आएका थिए । जसले गर्दा कृषकले उचित मूलय पाउन सकेका थिएनन् । ‘ब्यपारीले घरमै आएर यहाँ उत्पादीत तरकारी खरीद गरेर लैजान्थ्यो, तर उसले जति भन्यो त्यतिमा बिक्रि गर्दा उचित मूल्य पाइँदैनथ्यो’ स्थानीय कृषक गोविन्द पौडेलले भने ‘तर अहिले गाउँमै कृषक समूहले तरकारी खरीद गरेर लैजाँदा उचित मूल्य पाउन थालेका छौं ।’
कृषकहरुबाट खरीद गरीएको तरकारी कृषक समूहले झापाका बजारमा बिक्रि गर्ने गरेको छ । यसरी बिक्रि गरेको तरकारीबाट कृषकलाई उचित मूल्य दिन सकेको र समूहका लागि केही रकम जम्मा गर्न सकिएको स्थानीय घमसुरी कृषक समूहका सचिब राजिव गुरुङ्गले बताए । ‘थोरै जमिनमा तरकारी उत्पादन गर्ने कृषकलाई पनि फाइदा पुगेको छ’ गुरुङ्गले भने बर्खा याममा तरकारी खरीद गर्न नआउँदा कृषकले उत्पादन गरेको तरकारी बारीमै कुहिएर जाने समस्या पनि टरेको छ ।’
यातायात र बजारको असुबिधा झेलिरहेका रम्भ्याङ्गका कृषकले मौसमी र बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन् । किसानहरुको सल्लाह बमोजिम समूहले तरकारी संकलन गरेर झापाका बजारमा बिक्रि गर्न थालेको समूहले जनाएको छ । त्यहाँ उत्पादीत तरकारी समूहले संकलन गरेर झापाका बिर्तामोड, चारआलि। शनिश्चरे बजारमा लगेर बिक्रि गर्दै आएका छन् ।
कृषकबाट एकमुष्ठ रुपमा तरकारी संकलन गरेर बिक्रिका लागि लैजाँदा ढुवानी खर्च पनि कम लाग्ने तथा कृषक र कृषक समूहलाई पनि फाइँदा पुग्ने गरेको समूहका अध्यक्ष इन्द्र प्रधानको भनाई छ । सुन्तला, अलैंची र मह उत्पादन बढि हुने रम्भ्याङ्गका कृषकहरु पछिल्लो समय तरकारीको ब्यबसायिक खेतीतर्फ आकर्षित बनेका छन् । सो गाउँमा यतिखेर स्कुसको मुन्टा, बिइँ, फर्सि, गाजर, काँक्रा, टमाटर उत्पादन भईरहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।