नेपाल समाचारपत्र, काठमाडौं
छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका सिलसिलामा मंगलबार साँझ बेजिङ पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओली सहित नेपाली टोलीको सम्मानमा नेपाली दूतावासले सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक विकासका लागि रेलमार्ग र पूर्वाधार विकास अपरिहार्य रहेकोमा जोड दिनुभयो । नेपाल जस्तो भूपरिवेष्ठित मुलुकका लागि रेल र सडक सञ्जाल अपरिहार्य रहेको उहाँले बताउनुभयो । ‘कनेक्टिभिटी आर्थिक विकासको मेरुदण्ड हो, पूर्वाधार विकास, हिमालयपार रेलमार्ग र सडक सञ्जाल निकै महत्पूर्ण हो’–उहाँले भन्नुभयो ।
यातायात र अन्तदेशिय विद्युत प्रशारण लाइनले मुलुकको व्यापारलाई अन्तराष्ट्रिय क्षेत्रमा विस्तार गर्न सहयोग पु¥याउने भएकाले सडक र पूर्वाधारले नेपाल विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनसँग जोडिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) मा नेपाल आबद्ध भइसकेको उल्लेख गर्दै उहाँले सो परियोजना मार्फत हिमालयपार कनेक्टिभिटी बलियो बन्ने दावी गर्नुभयो । आफ्नो यो भ्रमणका क्रममा यस अघि चीनसँग गरिएका सन्धि सम्झौताको कार्यान्वयनको वातावरण बन्ने र केही नयाँ सम्झौता हुने ओलीले बताउनुभयो ।
चिनियाँ समकक्षी ली खछ्याङ्गको औपचारिक निमन्त्रणमा बेजिङ पुग्नु भएका ओलीलाई चिनियाँ विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नु भएको थियो ।
उहाँले आज बुधवार चिनियाँ व्यवसायीसँग अन्र्तक्रिया गर्दै हुनुहुन्छ भने ओलीकै उपस्थितीमा उर्जा र कृषि सम्बन्धी निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । उहाँले आज चिनियाँ राष्ट्रपति सी जिनपीङसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुने भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।