प्रशान्त वली, काठमाडौं ।
वरिष्ठ नशारोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । दिवंगत देबकोटाको राजकीय सम्मानका साथ विद्युतीय माध्यमबाट शबदाह गरिएको हो । डा. देवकोटाको पार्थिव शरीरमा पत्नी डा.मधु देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले दागवत्ती दिनुभएको थियो ।
काजकिरिया ७ दिनमा सकिने परिवारले जनाएको छ । दिउँसो १ बजेसम्म अस्पताल परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको देवकोटाको त्यसपछि शवयात्रा सुरु गरिएको थियो । पूर्व स्वास्थ्यमन्त्री समेत रहनुभएका देवकोटालाई कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएपछि सशस्त्र प्रहरीको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
देवकोटाको पार्थिव शरीरलाई मंगलबार विहान ८ बजेदेखि बाँसबारीस्थित न्युरो अस्पताल प्राङगणमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । डा. देवकोटाप्रति श्रद्धान्जली दिन शुभचिन्तक तथा समर्थक सयौंको घुईंचो लागेको थियो ।
उहाँलाई श्रद्घाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल कम्युनिस्ट पार्टीका नेताहरु बामदेब गौतम, सुवास चन्द्र नेम्वाङ, पम्फा भुषाल, प्रदेश ३ कि प्रदेशप्रमुख अनुराधा कोइराला लगायत विभिन्न राजनीतिक दलका नेताहरु, चिकित्सक, विभिन्न पेशाकर्मी र सर्वसाधारणहरु अस्पताल परिसर पुग्नुभएको थियो । सो अबसरमा सहभागीहरुले शोकलाइ शक्तीमा बदल्न परिवारलाई आश्वस्त पारेका थिए ।
पित्तनलीको क्यान्सरबाट ग्रसित ६४ वर्षको उमेरमा डा. देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएको थियो । २०१० पुस ४ गते जन्मेका डा. देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो ।
उपचारका लागि गत मंसिर पहिलो साता बेलायत पुगेका उहाँ त्यहाँ पनि उपचार हुन नसकेपछि नेपाल फर्किनुभएको थियो । बेलायतको किङ्स कलेज हस्पिटलमा उपचार सम्भव नभएपछि बाँकी जीवन नेपालमै बिताउने डा देवकोटाको इच्छा अनुसार नै नेपाल ल्याइएको थियो । बैशाख १५ गते नेपाल ल्याइएका डा. देवकोटाको न्युरो अस्पतालको भिआइपी वार्डमा राखेर उपचार भइरहेको थियो । उहाँको अवस्था थप जटिल बन्दै गएपछि आयुर्वेदिक उपचार पनि गराइएको थियो ।
वीर अस्पतालमा २५ वर्ष सेवा गर्नुभएका उहाँले हाल बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत बिरामीको सेवा गर्दै आउनुभएको थियो । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गर्नुभएको हो । भारतबाट फर्किएपछि उहाँले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाउनुभएको थियो ।
त्यसलगत्तै डा. देवकोटा लोकसेवा उत्तिर्ण गरेर वीर अस्पतालमा खटिनुभयो । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गर्नुभएका डा. देवकोटाले सिटी स्क्यान आविस्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर प्राप्त गरिसक्नुभएको छ ।
नेपाल फर्किएपछि उहाँकै नेतृत्वमा वीर अस्पतालमा सन् १९८९ मा न्युरोसर्जरी विभाग बनेको हो । वरिष्ठ न्युरो सर्जन डा. देवकोटालाई श्रद्धाञ्जली व्यक्त गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले मंगलबार आधा दिन विदा दिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।