लमजुङ, (नेस)
लमजुङमा प्रहरीले घरेलु मदिरा बरामद गरी स्थानीयवासीको रोहबरमा नष्ट गरेको छ । बेसीशहर नगरपालिका–१ का तीन जना व्यक्तिको घरबाट घरेलु मदिरा बरामद गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक रामशरण रानाको कमाण्डमा खटिएको १० जनाको टोलीले बेसीशहर नगरपालिका– १ गैरी स्थित चिप्लेटीमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । होटलहरूमा चेकजांच गर्ने क्रममा अवैध रूपमा बिक्री वितरण गर्न राखेका अवस्थामा प्रहरी नायव निरीक्षक रामशरण रानाले बताउनु भयो ।
उहाँका अनुसार नगरपालिका– १ गैरी स्थित चिप्लेटी बस्ने अशोककुमार गुरुङको होटलबाट १० ड्रम (२०० लिटर) र मदिरा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ बरामद गरिएको हो ।
यसै गरी सोही स्थानका सोमबहादुर विकको होटलबाट ६० लिटर घरेलु मदिरार सोही गाउँका नन्द गुरुङको होटलबाट ३ ड्रम (६० लिटर) मदिरा र घरेलु मदिरा उत्पादन गर्न तयार पारिएको कच्चा पदार्थ नष्ट गरिएको रानाले जानकारी दिनु भयो ।
सो अवसरमा घरेलु मदिरा तथा मदिरा उत्पादन गर्न राखिएका कच्चा पदार्थहरू बरामद गर्दै एकमुष्ट संकलन गरी स्थानिय मानिसहरूको उपस्थितिमा सोही स्थान नजिक नष्ट गरिएको हो । सो क्रममा उनीहरूलाई अबका दिनहरुमा अवैध रूपका मदिरा उत्पादन नगर्न निर्देशन दिइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।