रोशन पराजुली, हेटौंडा
रुसमा विश्वकप फुटबल चलिरहेको छ । खेलले नेपाली समाजलाई रोमाञ्चक पनि बनाएको छ । नेपालीहरुले फुटबलको यो महाकुम्भलाई निद्रा माया मारेर र मदिराको मदहोसमा रमेर हेर्ने गरेका छन् ।
प्रविधिको सहयोगले खेललाई घरमै बसीबसी खेल हेर्न सकिन्छ । यसका लागि कसैले नयाँ र ठूला टेलिभिजनको व्यवस्था गरेका छन् भने कसैले प्रोजेक्टरको । असार अन्तिमसम्म हुने विश्वकप फुटबलले हेटौंडेलीको दैनिक जीवन प्रभावित बनाएको फुटलप्रेमीको भनाइ छ । विश्वकपको तालिकाअनुसार कुनै खेल राति भइरहेको छ भने कुनै साँझपख । कतिपयको मनपर्ने टिमको खेल मध्यरातमा हुने गर्दछ ।
विश्वकप फुटबलले जुन किसिमको उल्लास ल्याएको छ, त्यो सकारात्मक हो । तर, फुटबलको यो तालिकासँग तालमेल मिलाउँदा दैनिकी भने लथालिंग भएको फुटबलप्रेमी सञ्जय श्रेष्ठले बताए ।
होटल व्यवसायी श्रेष्ठ ब्राजिलका फ्यान भए पनि उनी हरेक खेल नछुटाई हेर्छन् । विहान करिब ३ बजेसम्म हेरेर ७ बजे नै होटल खोल्न आइपुग्नुपर्ने उनले बताए । ‘ग्राहक नआएको समयमा त म होटलमा नै सुत्छु,’ श्रेष्ठले भने–फुटबलका लागि हामी रातभर जाग्राम बस्छौं ।
नापी कार्यालय मकवानपुरका राधेश्याम लामिछानले आफूले रातभर खेलको मज्जा लिने गरेको बताए । लामिछानेले भने–म त रातभर खेल हेर्छु र विहान ९ बजेसम्म सुत्छु । अनि अफिस जान्छु । विहानीको घरायसी काममा त असर परेको खेलले अफिसको काममा भने असर नपर्ने लामिछानेले बताए ।
हेटौंडा–१०, सीमाचोकमा एक प्रहरीले भने–राति उठेर खेल हेर्छु । राति अबेरसम्म खेल हेर्दा हामी काम गर्ने ड्युटीमा खटिनेलाई धेरै गाह्रो हुन्छ । ‘म विहान २ बजेसम्म खेल हेरिरहेको हुन्छु । तर, विहान ६ बजेदेखि ड्युटीमा आउँछु । साह्रै गाह्रो हुन्छ । कहिले त ड्युटीमै निद्रा लाग्छ,’ उनले भने–यस्तो हुँदा पनि खेल छाड्न सकिन्नँ ।
हेटौंडा अस्पतालकी डा. सुष्मा हजदारका अनुसार खेलले दैनिक कामधन्दामा त वाधा पु¥याउँछ नै, त्यो भन्दा बढी स्वास्थ्यमा समस्या निम्त्याउँछ । ‘महिना दिनसम्म दैनिकी यसैगरी प्रभावित हुन्छ । पर्याप्त सुतिन्न । स्वस्थ शरीरका लागि नियमित ७ देखि ८ घण्टासम्म गहिरो निद्रा सुत्नुपर्ने हुन्छ,’ डा. हजदारले बताइन् ।
उनका अनुसार कम सुत्दा निरन्तररुपमा स्नायु प्रणालीलाई कमजोर बनाउँछ । यसले उच्च रक्तचाप र हृदयघातको खतरा निम्त्याउँछ । उनले खेललाई भन्दा निद्रालाई प्राथमिकता दिन आग्रह गरिन् ।
रातभर जाग्राम बसेर रमाइलो गरेपछि अर्को दिन मानिस सामान्य लयमा फर्कन सक्दैनन् । उठ्न अबेर हुने र खानाको समय पहिलेजस्तो नियमित हुँदैन । दिनभरको कार्यतालिकाअनुसार आफूलाई डो¥याउन मानिस सक्दैन । यसले दैनिक कामधन्दामा त वाधा पु¥याउँछ नै, त्यो भन्दा बढी स्वास्थ्यमा समस्या निम्त्याउँछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।