विराटनगर, (नेस)
१ नम्बर प्रदेशसभाका सत्ता पक्षकै सांसदहरुले सरकारले संसदमा पेश गरेको विनियोजन विधेयकको आलोचना गरेका छन् । प्रतिपक्षी दलका सांसदहरुको आलोचनाले घेरिरहेको समयमा सत्ता पक्षका सांसदहरुले गरेको आलोचनाका कारण प्रदेशका आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोलाई दबाब बढेको छ ।
शनिबार बसेको प्रदेशसभा बैठकमा बोल्दै सत्तारुढ दल नेकपाका सांसद राजेन्द्र राई र तेजमान कन्दङ्वाले व्यंग्य गरेका छन । सरकारले आफ्नो स्तरको हिसावले योजना निर्माण नगरेको र बजेट पनि नछ्ट्याएको बताएका छन । उनले जनता, सांसद र सरकार आफैं पनि भ्रममा रहेको भन्दै सच्याउनुपर्ने बताए ।
यस्तै सांसद राजेन्द्र राईले सरकारले आफ्नो संचारगृह स्थापना गर्नुपर्नेमा जोड दिएका छन । सरकारको काम कारबाहीबारे जनतालाई सूचना दिन र सरकारको बचाउका लागि पनि संचारमाध्याम आफ्नै चाहिने उनको भनाई छ। नेकपा कै सांसद लछुमन तिवारीले साना योजना सिधै स्थानीय तहमा पु¥याउनु पर्नेमा जोड दिए । उनले आफ्नो संयन्त्र नभएको कारण प्रदेश सरकार स्थानीय तहसम्म साना साना कार्यक्रम लिएर जान नसक्ने पनि बताए ।
प्रदेशसभामा बोल्दै कांग्रेसका सांसद शेखरचन्द्र थापाले गतिहिन र लक्ष्यविहीन बजेट कार्यक्रम देखिएको भन्दै सरकारको आलोचना गरे । प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले भने सबैपक्षलाई समेटेर बजेट आएको बताएका छन ।
विकासका सबै साझेदारहरुसँग छलफल गरेर र समानुपातिक ढंगले बजेट ल्याएको भन्दै पहुँचको आधारमा बजेट विनियोजन नगरिएको उनले बताए । सरकारले मंगलबार संसदमा पेश गरेको विनियोजन विधेयक माथिको छलफलमा ३७ जना सांसदले भाग लिएका थिए । आर्थिक मामिला मन्त्रीले जवाफ दिएसँगै छलफलको कार्यक्रम सम्पन्न भएको छ भने आगामि १० गते १२ बजेसम्मका लागि खर्च कटौतीसम्बन्धी प्रस्ताव पेश गर्न सांसदहरुलाई समय दिइएको छ । संसदको अर्को बैठक १० गते आइतबार २ बजे बस्ने गरि स्थगित भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।