काठमाडौं, (नेस)
हिमाल आरोही कामाछिरिङ शेर्पाले हिमाल आरोहण, समस्या समाधान र हिमाल आरोहणका नायक शेर्पाहरुको जीवनमा आधारित वृत्तचित्र निर्माण गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शेर्पाले सगरमाथालगायत अन्य हिमाल चढ्नेलाई सरकार र अन्य निकायले वेवास्ता गरेको गुनासो गर्नुभयो । २ पटक सगरमाथाको सफल आरोहण गर्नुभएका शेर्पाले लामो समय लगाएर शेर्पाले हिमालहरुको महत्वलाई प्राथमिकताका साथ उठाउनुभएको छ । आरोहणका क्रममा कैद गरिएका दृश्य पनि वृत्तचित्रमा समावेश भएका छन् ।
काठमाडौंदेखि सगरमाथा आरोहण गर्दासम्मका दृष्य वृत्तचित्रमा समेटिएको उहाँले बताउनुभयो । हिमाल आरोहणमा ज्यान गुमाएका नेपाली आरोहीको दर्दनाक कथा र भोग्नुपरेका समस्या पनि वृत्तचित्रमा समावेश गरिएको छ । हिमाल आरोहणलाई युद्धसँग तुलना गर्दै शेर्पाले आरोहण गर्दाको समस्या, ज्यान गुमाउँदा परिवारले व्यहोर्नुपर्ने दुःख, अंगभंग भएका आरोहीहरुको कारुणिक कथालाई यथार्थ रुपमा वृत्तचित्रमा प्रस्तुत गरिएको जनाउनुभयो ।
‘हिमाल चढ्ने आरोहीको अवस्थाबारे कसैले बोल्दैनन्, राज्यले त्यही आरोहीबाट करमात्रै उठाउँछ, यो अवस्था अत्यन्तै कहालीलाग्दो छ’ शेर्पाले भन्नुभयो । वृत्तचित्रले आरोहीका आश्रित परिवारलाई राज्यले शिक्षा, स्वास्थ्यको व्यवस्था गरिदिनुपर्ने, अंगभंग भएकाहरुको उपचारको व्यवस्था गरिदिनुपर्ने, बृद्ध आरोहीहरुको लागि सामाजिक सुरक्षाको व्यवस्था ग्यारेण्टी हुनुपर्ने, पर्यटकको सुरक्षा लगायतका विषयमा पनि ध्यान दिनका लागि सरकारसँग आग्रह गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।