काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक अमेरिकाको न्यूयोर्कमा आयोजित दुई दिवसीय संयुक्त राष्ट्र संघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन २०१८ मा नेपालको तर्फबाट सहभागी भई मंगलबार स्वदेश फर्कनुभएको छ ।
प्रहरी महानिरीक्षक खनाललाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।
विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक खनालले उक्त सम्मेलनमा छलफलका एजेण्डा, प्रस्ताव र सदस्य राष्ट्रका प्रहरी प्रमुखहरूको प्रस्तुतीकरणलाई राष्ट्र संघको उच्च नेतृत्वले पुनरावलोकन गर्ने र तीमध्ये केही तत्काल कार्यान्वयन गरिने तथा केही आगामी वर्षका लागि रणनीतिक रूपमा योजना बनाइने निर्णय भएको बताउनुभयो ।
राष्ट्र संघीय मिसनमा सहभागी हुन पूर्ण दक्ष हुने सीप विकास गर्ने र महिला प्रहरी अधिकृतहरूको सहभागिता बढाउन आ-आफ्नै देशमा विशेष तालिम सहित पहल गरिने निर्णय समेत भएको उहाँले उल्लेख गर्नुभयो ।
राष्ट्र संघमा नेपाल प्रहरीको इमान्दारिता, अनुशासन, राष्ट्र संघको आचारसंहिता अनुरूप व्यवहारको साथै प्रहरी अधिकृतले प्रविधि र सुरक्षामा देखाएको तदारूकताको निकै ठूलो प्रशंसा भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले राष्ट्र संघबाट नेपाल प्रहरीले पाएको सकारात्मक प्रतिक्रिया तथा सम्मेलनमा सक्रिय सहभागिताले आफू उत्साहित भएको र नेपाल प्रहरी समेत उत्साहित भई आफ्नो भूमिकालाई अझै ठूलो दायरामा बढाउनुपर्ने बताउनुभयो ।
मिसनमा खटिने प्रहरी अधिकृतहरूले स्थानीय भाषामै वार्तालाप गरी नागरिकको समस्यालाई सम्बन्धित ठाउँमा लगेर समाधान गर्न सक्ने गरी भाषागत सीप बढाउनेतर्फ सम्मेलनले जोड दिएको उहाँले बताउनुभयो ।
सम्मेलनमा सदस्य राष्ट्रका सबल एवम् दुर्बल पक्ष, राष्ट्र संघमा प्रहरी अधिकृतहरूको परिचालन, आवश्यक स्रोतसाधनको व्यवस्था, मिसनको दायरा फराकिलो पार्दै क्षमता बढाउने, महिला प्रहरी अधिकृतको सहभागिता बढाउने, प्रि(डिप्लोएमेन्ट तालिमलाई प्रभावकारी बनाउने, सदस्य राष्ट्रबीच एकरूपता ल्याउने र प्रहरीको क्षमता तथा योग्यता बृद्दि गरी थप प्रभावकारिता ल्याउने लगायत तथा केही सांगठनिक एवम् नीतिगत बिषयमा समेत विस्तृत छलफल भएको प्रहरी महानिरीक्षक खनालले बताउनुभयो ।
नेपालले आफ्नो प्रस्तुतीकरणको क्रममा राष्ट्र संघप्रतिको प्रतिवद्दता व्यक्त गर्दै राष्ट्र संघमा प्रहरी अधिकृतहरूको दृढ र क्रियाशील उपस्थितिको लागि जोड दिइएको तथा औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उहाँले उल्लेख गर्नुभयो ।
त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम केसी. र नारायणबावु थापा लगाएत वरिष्ठ अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।