२७ साउन नवलपरासी । नवलपरासीमा साउन १९ गते आएको बाढीबाट भएको क्षतिको बारेमा व्यवस्थापिका संसदमा कुरा उठेको छ । नेकपा एमालेकी सांसद सिन्धु जलेसा बुढाथोकीले संसदको शुन्य समय लिएर बोल्दै बाढीबाट मृत्यु भएकालाई क्षतिपुर्ति, घर भत्केका परिवारलाई सुरक्षित वासस्थान र बाढी प्रभावित क्षेत्रमा महामारीको प्रकोप देखा पर्न सक्ने भएकोले स्वास्थ्य शिविर सन्चालन गर्न माग गर्नुभएको हो ।
बाढीका कारण नवलपरासीको पाल्हीनन्दनमा दुई जना र प्रतापपुर गाउँपालिकामा एक जना गरि तीन जनाको मृत्यु भएको थियो । यस्तै पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकामा गरि एक सय ४४ घर पुर्ण रुपमा भत्कीएका क्षति भएको तथा सात सय २० जना विस्थापित भएको जिल्ला दैवि प्रकोप राहत समितिले जनाएको छ ।
सांसद जलेसाले नेपाल र भारत वीच भएको गण्डक सम्झौता अनुसार भारतले साईफन र डेनको समयमा मर्मत सम्भार तथा सफाई नगर्दा उत्तर चुरे क्षेत्रबाट दक्षिण बग्ने नदीमा अवरोध भई सुस्ता, प्रतापपुर लगायतका क्षेत्र डुवानमा परेको भन्दै यसतर्फ तत्काल पहल थाल्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
#रेडियो परासी