काठमाडौँ। भारतीय कलाकार सञ्जय दत्तको जीवनमा आधारित बहुप्रतीक्षित हिन्दी फिल्म ‘सञ्जु’लाई काठमाडौँका अधिकांश मल्टिप्लेक्सहरुले शुक्रबार बहिस्कार गरेका थिए । वितरक र हल सञ्चालकहरुबीच भएको विवादका कारण अधिकांश मल्टिप्लेक्सहरुले शुक्रबार बहिस्कार गरे पनि शनिबारदेखि उनीहरुले फिल्म लगाएका छन्।
क्युएफएक्सले आफ्ना पाँच वटा मल्टिप्लेक्सहरुमा शनिबार २४ वटा शो सञ्जुका लागि दिएको छ।
मंगलबार, बुधबार र बिहीबार मल्टिप्लेक्सले दर्शकलाई दिंदै आएको टिकटमा सहुलियत सञ्जुका लागि उपलब्ध गराउन नपाउने वितरकको माग सम्बोधन नगर्ने निर्णय गरेपछि शुक्रबार ‘सञ्जु’ नलागेको नेपाल चलचित्र संघका कोषाध्यक्ष गोपीलकाजी कायस्थले बताएका थिए। विवाद कसरी मिल्यो भन्ने बारे जानकारी आउन बाँकी नै छ।
कमलपोखरीको बिग मुभिज, गोंगबुको बिएसआर मुभिज र चाबहिलको एफक्युबमा पनि ‘सञ्जु’ शनिबार लागेको छ।
फिल्ममा रणवीर कपूरले सञ्जय दत्तको अभिनय गरेका छन् भने मनीषा कोइरालाले उनकी आमाको अभिनय गरेकी छिन्। फिल्ममा अनुश्का शर्मा, दिया मिर्जा लगायत कलाकारहरूकाे पनि अभिनय रहेको छ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।