बाँके, (नेस)
प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कानून बुझेर गर्ने सुक्ष्म अनुसन्धान र अभियोजन सधै प्रभावकारी हुने बताउनु भएको छ ।
प्रहरी प्रधान कार्यालयले ६ र ७ नम्बर प्रदेश तथा बाँके र बर्दियाका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको प्रथम सम्मेलनको शुक्रबार बाँकेको कोहलपुरमा उद्घाटन गर्दै प्रहरी, सरकारी वकील र न्यायालयको काम फरक फरक भएपनि सबैको साझा सवाल भनेको कानूनको सफल कार्यान्वयन र अपराधीलाई दण्डसजाय दिलाउनु नै रहेको बताउनुभयो ।
आइजीपी खनालले जनताप्रति उत्तरदायी भएर इमान्दारी र निष्ठापूर्वक कार्य गर्नुको विकल्प नरहेको बताउनुभयो । उहाँले अनुसन्धानकर्ताको गलत बुझाईले कुनै व्यक्ति समाजबाट तिरस्कृत हुन सक्नेतर्फ सचेत गराउनुभयो ।
उच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाले बदलिदो परिस्थिति अनुसार प्रहरीले गर्ने अनुसन्धानको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव दिनुभयो ।
अपराध अनुसन्धान विभागका प्रमुख डिआइजी धिरु बस्न्यातले दण्डहीनताको अन्त्य गर्न सुक्ष्म अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।
आगामी भदौ १ गतेदेखि लागु हुने मुलुकी अपराध (संहिता) ऐनलगायत नयाँ फौजदारी कानून कार्यान्वयन गर्ने सम्बन्धमा सम्मेलनमा राखिएको थियो । कार्यक्रममा तीन वटा कार्यपत्र प्रस्तुत हुने र छलफलमा उठेका विषयहरु समावेश गरी साझा धारणासहित प्रस्तावहरु पारित गरिने डिआइजी बस्न्यातले जानकारी दिनुभयो ।
उद्घाटनमा सहमहान्यायाधिवक्ता विश्वराज कोइराला, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवराज आचार्यले पनि मन्तव्य राखेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।