काँकडभिट्टा, लक्षित समुदायलाई छुट्याउने बजेट कटौती नगर्न मेचीनगरमा क्रियाशील करीब एक दर्जन महिलावादी संस्थाले स्थानीय सरकारसँग आग्रह गरेका छन् ।
आगामी आव २०७५/०७६ का लागि प्रस्तावित गरेका बजेट, नीति तथा कार्यक्रममा संवैधानिक व्यवस्था अनुरुप लक्षित समुदायलाई छुट्याउने बजेट कटौती नगर्न ती संस्थाले मेचीनगर–९ का वडा कार्यालयलाई आग्रह गरेका हुन् ।
वडा नम्बर–९ ले तयार पारेका प्रस्तावित बजेटमा लक्षित समुदाय ९महिला, दलित, अल्पसंख्यक, बालबालिका र सीमान्तकृत० को क्षमता वृद्धिका लागि सरकारले छुट्याउँदै आएको बजेट कटौती गर्न लागेको भन्दै ती संस्थामा संलग्न महिलाले वडाध्यक्षलाई भेटर यससम्बन्धी ध्यानाकर्षण पत्रसमेत बुझाएका हुन् ।
वडा नम्बर ९ ले आगामी आवका लागि लक्षित वर्गको बजेट पूरै कटौती गरेको वडा कार्यालयले नै स्वीकारेको छ । वडाको प्रस्तावित कूल रु ७५ लाखको बजेटमा रु २५ लाख सामाजिक शीर्षकअन्तर्गत राखिएको छ ।
संवैधानिक व्यवस्थाअनुरुप कूल रु २५ लाख बराबर १० प्रतिशत लक्षित समुदायलाई बजेट विनियोजन गर्नुपर्ने हुन्छ । तर, वडाले त्यस शीर्षकको बजेट पूरै कटौती गरेर लक्षित समुदायको हितविरुद्ध उभिएको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगीले बताउनुभयो ।
उहाँले वडा कार्यालय आफुखुशी अघि बढेकाले आफूहरु बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताउनुभयो ।
वडाध्यक्ष गोपाल खड्काले लक्षित वर्गको नाममा रहेको बजेट न्यून भएकाले उक्त बजेट विकास निर्माणमा छुट्याइएको बताउनुभयो । उहाँले धेरै वटा महिलावादी संस्था रहेकाले सो बजेट छुट्याउँदा नपुग्ने हुँदा विकास निर्माणलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो ।
“हेर्नुस् के गर्नु बजेट नै कम्ती छ, सबैलाई दिँदा पुग्दैन,” उहाँले भन्नुभयो, “त्यही भएर उक्त शीर्षकको बजेट उपयोगी ठाउँमा विनियोजन गर्नुपरेको हो ।”
महिला संस्थाले बुझाएको ध्यानाकर्षण पत्र नगरपालिकामा जानकारी गराउने र उनीहरुको मागलाई यथोचित सुनुवाइ गरेर अघि बढ्ने अध्यक्ष खड्काले विश्वास व्यक्त गर्नुभयो ।
वडा कार्यालयमा बुझाइएको ध्यानाकर्षण पत्र मेचीनगर नगरपालिकाका कार्यालयमा समेत बुझाइएको समाज सुधार महिला विकास संस्थाकी अध्यक्ष संगीता थापाले बताउनुभयो ।
रासस
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।