नेपाल समाचारपत्र, लमजुङ
मध्यनेपाल नगरपालिकाले समग्र नगर क्षेत्रलाई प्लाष्टिक मुक्त बनाउँदै ‘ग्रीन’ तथा ‘क्लिन’ सिटी बनाउने भएको छ । प्लाष्टिक बाहेकका हातेझोला वितरण गर्दै हरियाली प्रर्वद्धनका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ ।
तेस्रो नगरसभामा लागि तय गरिएको नीति तथा कार्यक्रममा यो विषय उच्च प्राथमिकता राखिएको नगरपालिकाले जनाएको छ । आर्थिक, सामाजिक, पूर्वाधार विकास सहित वन वातावरण, विपत व्यवस्थापन, संस्थागत विकास र सेवा प्रवाहका कार्यक्रमलाई विशेष प्राथमिकतामा राखिएको सो नगरका मेयर रमेश पाण्डेले जानकारी दिनुभयो ।
आर्थिक विकास कार्यक्रम अन्र्तगत एक वडा एक कृषि उत्पादन कार्यक्रम, नगर प्रमुख कृषि आधुनिकीकरण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकासतर्फ समीभञ्ज्याङ, करापु र नेटामा प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन गरिने, सिटी हल, खेलमैदान, मनोरञ्जन पार्क निर्माण, शारीरिक व्यायामशाला, नगरप्रमुख युवा स्वरोजगार कोष खडा गरिने, नगर उज्यालो कार्यक्रम अन्र्तगत रामबजार, भोर्लेटार, रम्घा र सोतीपसलमा सोलार वत्ती जडान लगायतका कार्यक्रम सञ्चालन गरिने पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार वन, वातावरण र विपत व्यवस्थापन अन्र्तगत स्वच्छ वातावरण स्वस्थ जीवन, हरियो वन मध्यनेपालको धन, एक वडा एक उद्यान, क्लिन मध्यनेपाल ग्रीन मध्यनेपाल, कौसी खेती र करेसाबारी कार्यक्रम सञ्चालन गरिने छ । त्यसैगरी, भू–उपयोग योजना लागू गरिने, नगरका मुख्य स्थानमा सिसि क्यामेरा जडान, आवश्यकता अनुसार ट्राफिक चिन्ह राखिने, संस्थागत विकास र सेवा प्रवाह अन्र्तगत राजश्व, कर संकलन र व्यवस्थापन कार्यलाई कडाईका साथ लागू गरिने बताइएको छ ।
कम्प्युटर प्रविधि तथा इन्टरनेट प्रविधिमा आधारित सेवालाई प्रभावकारी बनाउने, कर्मचारीको क्षमता बृद्धिको लागि प्रयास गर्ने तथा स्थानीय सामुदायिक एफ.एम.सञ्चालनमा आवश्यक पहल गर्ने जस्ता योजना रहेको नगरपालिकाले जनाएको छ । वडा नं–१० स्थित नेटामा वि.पी.कोइराला स्मृति पार्क निर्माण, डढुवा र करापुमा होमस्टे सञ्चालन, जीता, टक्सार र नेटालाई कृषि पर्यटनको रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । अर्गानिक खेतीको उत्पादन र व्यवसायिकीकरण गर्न सुरुवात गर्ने नगरपलिकाको योजना गहेको छ ।
त्यस्तै, सामाजिक विकास कार्यक्रम अन्र्तगत समृद्ध मध्यनेपाल सुखी मध्यनेपालबासी नारालाई व्यवहारमा लागू गर्ने, नगरपालिकालाई जिल्लाकै शैक्षिक हवको रुपमा विकास गर्ने, गरिबी न्यूनीकरणको लागि आय आर्जन र स्वरोजगारका अवसर प्रदान गर्ने बताइएको छ ।
हाटबजार तथा कृषि उपज बिक्री वितरणस्थल निर्माण, सामुहिक र सहकारी खेतीलाई गर्न कृषि उपजको उत्पादन, भण्डारण बिक्री वितरण गर्न सहकारी र कृषि समूहलाई सक्रिय बनाउने लक्ष्य समेत अघि सारिएको छ । उद्योग स्थापना सञ्चालन र नवीकरण प्रक्रियालाई सरलीकरण, सहजीकरण र प्रभावकारी बनाइने लगायतका कार्यक्रम समेत समावेश गरिएको छ ।
नगरबासीको सुरक्षित बसोबास सुनिश्चित गर्न खरको घर मुक्त नगर पहल गरिने, जेष्ठ नागरिक दिवा सेवा केन्द्र निर्माण गरिने, खेलकूद, धार्मिक र साहित्यक गतिविधी लगायतका कार्यक्रम पनि नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।