काठमाडौँ । चीनको केरुङ नाका हुँदै एक पटक सुन काठमाडौँ ल्याएकोे भरियाले५० हजार लिने गरेको नयां तथ्य खुलेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले आइतबार राती केरुङ नाका हुँदै नेपाल ल्याएको ६ किलोग्राम सुनमा पक्राउ परेका सिन्धुपाल्चोकका तेन्जिङ तामाङले एक खेपको ५० हजार लिने सर्तमा सुन ल्याएको बताएका छन ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रमुख केशवराज भट्ट नेतृत्वको टोलीले आइतबार बा ९५ प ८१६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा कम्मरमा खैरो कालो छिर्के मिर्के रंगको लेडिज सलभित्र ६ किलोग्राम सुनसहित तामाङलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले आज पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
सो अवसरमा परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले सुन पठाउने चीनियाँ व्यापारी भएको र चीनबाट काठमाडौँ ल्याएवापत एकपटकमा ५० हजार दिने सर्तमा तामाङले सुन काठमाडौँ ल्याएको अनुसन्धानबाट खुलेको बताउनुभयो ।
सुन स्वयम्भुसम्म पु¥याउने र स्वयम्भुमा पुगेपछि अर्को मान्छेले फोन गरेर सुन लिन आउँछ भनेर चिनीया व्यापारीले सुन पठाएको समेत अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।
एसएसपी पोखरेलले पछिल्लो समय केरुङ नाका हुँदै धेरै सुन काठमाडौँलगायत देशका विभिन्न भागमा भित्रिने गरेको भन्दै प्रहरीले विशेष निगरानी राखेको बताउनुभयो ।उहाँले शनिबार भारत लैजाँदै गर्दा नागढुंगाबाट समातेको सुन र हिजो चीनबाट ल्याएको सुनमा कुनै सम्बन्ध नभएको पनि जानकारी दिनुभयो ।
परिसरले शनिबार नागढुंगाबाट तीन किलोग्राम सुनसहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिसकेको छ । पक्राउ परेको सुनलाई आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको परिसरले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।