मोतीराम तिमल्सिना, काभ्रे
फुपू दिदीलाई बाख्राको खोरमा जबरजस्ती गर्न खोजेको घटना सार्वजनिक नगर्न नमानेपछि ९ वर्षीया बालिकालाई घाँठी अँठ्याएर ढुंगामा टाउको बजारी हत्या गरिएको छ। हत्या गर्ने युवक प्रहरी नियन्त्रणमा छन्।
साबिक सस्र्युखर्क गाविस हाल तेमाल गाउँपालिका वडा नम्बर १ आधाबाटोमा भीमबहादुर तामाङकी ९ वर्षीया छोरी एलिसा तामाङको बारा जिल्ला गहहल गाउँपालिका–४ घर भई सोही स्थानमा मजदुरी काम गर्दै आएका २३ वर्षीय जोखम मन्सुरीले हत्या गरेका हुन्। जोखम मन्सुरीले २१ वर्षीया मीना तामाङ अर्थात् भीमबहादुरकी बहिनीलाई बाख्रा सार्न गोठमा गएको बखत जबरजस्ती गर्ने प्रयास गरेका थिए। घटनामा त्यहीँ रहेकी एलिसाले बाबु भीमबहादुरलाई भनिदिन्छु भनेपछि जोमखले चकलेट दिएर फकाउने प्रयास गरेका थिए। एलिसा चकलेटमा समेत नभुलेपछि हातको इसाराले बोलाएर जंगलको छेउमा पुर्याई दुवै हातले घाँटी अँठ्याएर ढुंगामा टाउको बजारी केही चड्कनसमेत हानेर फरार भएका थिए।
सस्र्युखर्कबाट भागेका जोखम बोहोरेदोभानबाट टिपर चढेका थिए। स्थानीयहरूले खोजतलासलाई तीव्र बनाएपछि प्रहरीको सहयोगमा उनलाई नियन्त्रणमा लिइएको थियो। स्थानीयहरूले जोखमलाई डोरीले बाँधेर मरणासन्न हुने गरी कुटपिटसमेत गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेलगत्तै घटनास्थलबाट एलिसाको शवको अनुसन्धान गरी मीना र जोखम दुवैलाई नियन्त्रणमा लिएको थियो। एलिसाकी आमाको ३÷४ वर्षअघि ज्वरोका कारण निधन भएको थियो। श्रीमती बितेपछि सधैं मादक पदार्थ सेवन गर्दै आएका भीमबहादुर र जोखमले बुधबार साँझ (असार २० गते) ४० रुपियाँको रक्सी सँगै खाएका थिए।
भीमबहादुरको घर बनाउने समयमा जोखमले काम गरेका थिए। दिउँसो काउली रोप्न लागेको समयमा पनि रक्सी खाएका जोखम सघाउने भन्दै बहिनी मीनालाई पछ्याइरहेका थिए। केही दिनअघि बारा घरमा गएका जोखमले आउँदा मीनालाई मोबाइल ल्याउने बताएका थिए। दिउँसो खाजा लिन घरमा आउँदासमेत मीनालाई उनले एकोहोरो पछ्याइरहेका थिए। स्थानीयहरूले मीना र जोखमको सम्बन्धका बारेमा आशंका गरेको भए पनि मीनाले आफूले कहिल्यै त्यस्तो नगरेको बताइन्। बाख्रा गोठमा एलिसा र मीना सँगै भएको बेला ढोका थुन्ने प्रयास गर्दै बत्तीसमेत निभाएर साँझको समयमा मीनालाई जबरजस्ती गर्ने प्रयास भएको थियो। हातमा समातेर जबरजस्ती गर्न खोजेपछि गुहार गुहार भन्दै उनी भागेकी थिइन्।
एलिसा र मीना घर गएर बसेको समयमा भीमबहादुर थिएनन्। केही क्षणमा उनी आए, एलिसा हराइसकेकी थिइन्। मीनाका बाबुआमा दुवै केही दिनअघि काठमाडौं गएका थिए। घरमा भीमबहादुर, मीना र एलिसा मात्रै थिए। डरले घरभित्रै बसेकी मीनाले एलिसा कहाँ गएको पत्तोसमेत पाइनन्। केही क्षणमा खोजतलास गर्दा जोखमले हात समाएर डोहोर्याएर लगेको थाहा भयो। खोजतलास गर्दा एलिसाको निधन भइसकेको थियो। मीना दुई महिनाअघि मात्रै सिन्धुपाल्चोकको आरूबोटका युवकसँग सम्बन्ध बिच्छेद गरेर माइती आएकी थिइन्। त्यो विवाह पनि डेड महिनाको मात्रै भएको उनले बताइन्।
एलिसाको हत्या जोखमले गरेकाले आफ्नो कुनै हात नरहेको मीनाले बताइन्। आफू उल्टै जोखमको जबरजस्ती करणीबाट जोगिन गरेको प्रयास र एलिसाको सहयोगका कारण उसले हत्या गरेको हुन सक्ने मीनाले बताइन्। प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ। मीना र जोखम दुवै प्रहरी नियन्त्रणमा छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।