चिरञ्जीवी मास्के
दोलखा । स्थानिय तहको निर्वाचन प्रचारको क्रममा २०७४ बैशाख २६ गते राति हत्या भएको तत्कालीन एमाले कार्यकर्ता कुलबहादुर तमाङको हत्या आरोपी ४० जनालाई जिल्ला अदालत दोलखाले सफाई दिएको छ ।
छोराको हत्यापछि २०७४ बैशाख २७ गते मृतकका बुबा गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ का गोरे तमाङले तत्कालीन माओवादी केन्द्रका ४० जना नेता/कार्यकर्ताको नाममा कर्तव्य ज्यान मुद्धा दर्ता गरेका थिए ।
जिल्ला अदालत दोलखाका न्यायधिश कमलराज विष्टको इजलासले विहिवार आरोपी ४० जनालाई नै सफाई दिएपछि मृतकको श्रीमती साङमाया तमाङले नेपालमा कानुन नै नभएको प्रतिकृया दिएकी छन् । आरोपी मध्य केहिले मृतकलाई कुटपिट गरेको स्वीकार समेत गरेको अवस्थामा ४० जनालाई नै सफाई दिनु न्यायसंगत नभएको साङमाया बताउछिन् ।
मेरो श्रीमानको हत्या भएको छ, किटानी जाहेरी दिएको सबैलाई अदालतले छोडेपछि हत्यारा को हो सरकारले खोजि गर्नुप¥यो – साङमायाले भनिन् । को को मिलेको भरमा हत्यारा उम्कनु पाउनुहुदैन, म न्यायको लागि अन्तिम अवस्थासम्म लड्छु – उनले भनिन् ।
जिल्ला अदालत दोलखाको विहिवारको फैसलामा जाहेरवाला लगाएत घटना विवरणको कागज गर्ने व्यक्तिहरु मध्ये झलक बहादुर र देविका बस्नेत बाहेकका अन्य सरकारी साक्षी अदालतमा उपस्थित नभएको, प्रतिवादीले आरोपि कसुरमा इन्कार रहि बयान गरेको देखिएको, सरकारी साक्षीले मौकाको कागज भन्दा भिन्न व्यहोरा उल्लेख गरि प्रतिवादीहरुको कसुरमा संलग्नता बारे केही कुरा उल्लेख नगरेकाले आरोपीहरु निर्दोष ठहर भएको उल्लेख छ ।
अधिकारकर्मीहरु कुलबहादुरको हत्या भएको तर अदालतबाट आरोपिहरु सबै निर्दोस सावित भएकोले सरकारवादी मुद्दामा हत्यारा को हो भन्ने कुराको खोजिगर्ने काम अव सरकारको भएको बताउछन् । कुलबहादुरको हत्यारा नखोज्ने हो भने जनतामा न्यायको अनुभूति हुन नसक्ने र अपराधले प्रश्रय पाउने उनीहरुको भनाई छ ।
सरकारवादी मुद्दामा जिल्ला अदालतको फैसला पीडितको पक्षमा नआए पुनरावेदन गर्ने प्रावधान रहेकोले कुलबहादुर हत्या घट्नामा अब जिल्ला न्यायधिवक्ताको कार्यालय पुनरावेदनको लागि उच्च अदालत पाटनमा जाने कानुनविद्हरुको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।