नेपाल समाचारपत्र, पाल्पा
वर्षातको वेलामा मात्र होइन अरुवेला पनि ज्यानमारा मार्गको रुपमा परिचित पाल्पा वुटवल सडक खण्डको सिद्धवावा क्षेत्रको विकल्पका रुपमा अर्काे वैकल्पिक मार्गको ट्रयाक हालै खोलिएपछि जिल्लावासीहरुमा खुशीको संचार भएको छ ।
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सिद्धबाबा सडक खण्डमा जोखिम बढेपछि पाल्पाको झुम्सा चौकीभञ्याङ देखी रुपन्देहीको चरङ्गे सम्मको वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने कार्य सम्पन्न भएको भए पछि जिल्ल्लावासीमा खुशीयाली छाएको हो ।
जिल्ला समन्वय समिति पाल्पाको अगुवाइमा स्थानीय सरकारहरूले आफ्नो लगानीमा वैकल्पिक मार्गको नयाँ ट्रयाक खोल्ने काम पुरा भएको हो ।
यस मार्गका लागि ५ नं प्रदेश सरकारले यो सडक निर्माणको लागी आगामी आर्थिक बर्षको लागी १० करोड रुपैया विनियोजन गरेको छ । साथै तिनाउ गाउँपालिकाले ६० लाख र रिब्दीकोट गाउँपालिकाको १० लाख रूपैंया लगानी गरिसकेका छन् । तानसेन नगरपालिकाले २० लाख र बगनासकाली गाउँपालिकाले ५ लाख रूपैंया र देवदह नगरपालिका रुपन्देही बाट १० लाख गरी १ करोड १० लाख रुपैयामा बाटोको ट्रयाक खोलिएको हो ।
झुम्सा चौकीभञ्ज्याङ् चरङ्गे वैकल्पिक मार्गको लम्बाई करिव २० किलोमिटर रहेको छ । पाल्पाको झुम्सा चौकीभञ्ज्याङ ७ किलोमिटर र रूपन्देहीको चरङ्गे मुढाबास ७.५ किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो । चौकीभञ्याङ मुढाबास खण्डको करिव साढे ५ किलोमिटरमा नयाँ ट्रयाक खोलेपछि झुम्सा चरङ्गे सडकले जोडिएको छ । पाल्पाली जनप्रतिनिधिहरूले आउने आर्थिक वर्षमा सडक फराकिलो बनाउने र ग्राभेल सम्मको काम सक्ने रणनीतिसमेत अघि सारेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।