विमल विष्ट, डोटी
दिपायलको राजपुरमा अहिले सडक कालोपत्रे र मर्मतको काम सुरु भएको छ । अहिले सडकमा भएको कालोपत्रेलाई उप्काएर एक करोड रुपैयाँको लगानीमा भवन तथा शहरी विकास डिभिजनले पीएस कन्सट्रक्सनलाई ठेक्कामार्फत कालोपत्रे गराइरहेको छ ।
दिपायल–सिलगढी नगरपालिकाले दिपायलको रातामाटीमा फनपार्कको काम पनि असारमसान्तमा गराइरहेको छ । उपभोक्ता समितिमार्फत २० लाखको लगानीमा पार्क्भित्र सडक, खानेपानी ट्यांकी तथा प्रतिक्षालय बनाइरहेको छ ।
सडक र प्रतिक्षालय बनाइसके पनि खानेपानीको ट्यांकी निर्माणाधिन छ । ‘सामुदायिक वन क्षेत्रमा पार्क बनिरहेकाले प्रकृया पु¥याउँदा पु¥याउँदै समय बढी खर्च भयो’, कुमालीकोट सामुदायिक वनका अध्यक्ष तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र कठायतले भन्नुभयो, ‘असारमै भए पनि काम सक्ने भएका छौं । यो रहर नभएर बाध्यता हो ।’
यसरी नै अहिले जिल्लाभर कसले कति विकास गर्ने भन्ने होडबाजी ने चलेको छ । गएको वर्षजस्तै यो वर्ष पनि असार मसान्तमा धमाधम विकासको काम भैरहेका छन् । यो चालु वर्षको दुई दिन बाँकी रहँदा पनि काम सकेर भुक्तानी पाउने आशमा योजनाहरु बन्ने क्रम जारी छ ।
नियमानुसार असार २५ सम्म मात्र सरकारी कार्यालयहरुले भुक्तानी दिन पाउछन् ।स्थानीय तहहरुमा भुक्तानीका लागि बढी तछाडमछाड छ । केन्द्रको सिंहदरबार गाउँमै पुगे पनि काम गर्ने प्रवृतिमा भने अझै सुधार आएको देखिँदैन । स्थानीय तहमा जनप्रतिनिधिको प्रत्यक्ष संलग्नतामा दिगो विकासको काम हुन्छ भन्ने नागरिको आश फेरि निराशामा परिणत भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले स्थानीय तहहरुले यो अन्तिम सातामात्रै कुल बजेटको ३० प्रतिशत रकम भुक्तानी गरेका छन् । अझै १५ देखि २० प्रतिशत बजेटको भुक्तानी आइतबार र सोमबारमा वितरण भइरहेको छ । ‘८० जति योजनाहरुको दुई दिनमा भुक्तानी हुने गरी रात दिन खटेर काम गरिरहेका छौं’, केआईसिंह गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले भन्नुभयो, ‘समयमै काम गर्नु, काजगात ल्याएर भुक्तानी लिनुस् भने पनि उपभोक्ताहरु अन्तिम समयमा आउछन् ।
त्यसले कर्मचारीलाई हैरान भएको छ ।’ केआईसिंह गाउँ पालिकामा मात्र होइन, डोटीका ९ वटै स्थानीय तहको अवस्था उही हो ।
दिपायल–सिलगढी र शिखर नगरपालिका, बोगटान, पूर्वीचौकी, सायल, आदर्श, जोरायल, बडीकेदार गाउँपालिकाका सदरमुकामहरुमा उपभोक्ता समितिका पदाधिकारीहरुको घुइँचो छ । कार्यालयमा घुइँचो बढ्दा भुक्तानीका लागि दुई÷तीन दिन कुर्नु परिरहेको उपभोक्ताहरुको गुनासो छ ।
सबैभन्दा बढी सडक, खानेपानी, सिँचाई जःता आयोजनाका भुक्तानी हुन बाँकी छन् । यद्यपी जनचेतनामूलक कार्यक्रमहरु पहिल्यै भुक्तानी लिएर असारको अन्तिम सातासम्म कार्यक्रम आयोजना गरी खर्चने पनि अधिकांशले सुरसार गरिरहेको शिखर नगरपालिकाका बारबाटाका वीरबहादुर बिष्टले बताउनुभयो ।
अन्तिम समयमा आएर भुक्तानी दिँदा कतिपय योजनाहरुको काम प्रभावकारी भए–नभएको बुझ्न नसकिने कर्मचारीहरु बताउँछन् । ‘यही मौका छोपेर कर्मचारीले कमिसन पनि माग्ने ठा पाउछउँन्’, केआईसिंह गाउँपालिका तिखात्तरका स्थानीय मीन मलासीले भन्नुभयो, ‘नियत नै बिगारेर कतिपयले ढिलो गरी काम गर्ने गरेका छन् ।’
डोटी बहुमुखि क्याम्पसका सह–प्राध्यापक अर्जुन देउवा के कसरी काम गर्ने, नीति–नियम के छन्,कसलाई योजना सम्पन्न गर्न दिने, जस्ता अन्योलता रहेकाले काम ढिलो भएको बताउनु हुन्छ । उहाँ जनप्रतिनिधि स्पष्ट विचार र योजनासहित नआउँदासम्म र कर्मचारी र जनप्रतिनिधिबीचको द्धन्द्धका कारण विकासको काममा सधैँ लफडा भइरहने बताउनुहुन्छ । तर कर्मचारी र जनप्रतिनिधिहरुको आरोप उपभोक्ता तर्फ पनि छ ।
ढिलो गरी सम्झौता गर्न आउने, काममा ढिला सुस्ती गर्ने तथा योजनाबाट रकम जोगाउन खोज्ने प्रयासले पनि उपभोक्ताहरु अन्तिम समयमा आएर काम गर्न लागेको जिल्ला समन्वय समिति संयोजक रामबहादुर ऐरले बताउनुभयो । ऐरले व्यवहार परिवर्तन नहुँदासम्म अझै समस्या दोहोरिने दाबी गर्नुभयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।