काठमाडौं, (नेस)
संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका कायममुकायम (कामु) प्रधानन्यायाधीश दीपकराज जोशीलाई सबैभन्दा पहिले बोलाउने भएको छ ।
समितिको सभापतित्व गरिरहनुभएका समितिको ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णका अनुसार जोशीको नाममा कसैको उजुरी भए दिनका लागि सार्वजनिक सूचना गर्ने छ । ‘ समिति सक्रिय भइसकेको छ, जोशीको विपक्षमा केही उजुरी भए दिनको लागि सूचना गर्ने निर्णय भएको छ’ कर्णले भन्नुभयो ‘ १० दिनको समयभित्रमा उजुरी दिइसक्नुपर्ने छ ।’ गोपालप्रसाद पराजुलीको कार्यकाल सकिएपछि जोशी कामु बन्नुभएको हो ।
सुनुवाइ नभएकाले जोशी कामु मात्र बन्नुभएको हो । समितिमा आएका उजुरीबारे के हो भनेर समितिमा सदस्यले सुनुवाइमा प्रश्न गरेपछि सुुनुवाइ भइरहेका व्यक्तिले त्यसबारे जवाफ दिनुपर्ने हुन्छ । कार्यविधि बनाउन मंगलबार गठन भएको उपसमितिले कार्यविधि बनाएर समितिलाई बुझाइसकेको सदस्य पुष्पा भुसाल गौतमले जनाउनुभयो ।
बिहीबारसम्मको समयसीमा दिएर गौतमसहित सांसदहरु योगेशकुमार भट्टराई र शिवकुमार मण्डल रहेको ३ सदस्यीय समिति बनाइएको थियो । संसदीय सुनुवाइ समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रियसभाका ३ गरी १५ सदस्यीय संसदीय सुनुवाइ समिति गठन गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।