१५ भदौ, चितवन – गएराति चितवनमा आएको अबिरल वर्षाका कारण सडक भासिएपछि नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले दिएको जानकारी अनुसार सडक खण्ड भासिएका कारण आज दिनभर नै यातायात सञ्चालन गर्न कठिन हुने अवस्था छ ।
जलबिरेमा दुई स्थानमा, कालीखोला, चारकिलो र पाँचकिलोमा एक–एक स्थानमा पहिरो गए पनि सफा गरेको तर भासिएको सडक मर्मत गर्न समय लाग्ने आयोजनाले जनाएको छ ।
दैनिक १० हजारसम्म गाडीहरु ओहोर दोहोर गर्ने सो सडकमा आवागमन ठप्प हुँदा हज्जारौं यात्रु मर्कामा पर्छन् । सडक निर्माणमा भएको ढिला सुस्ति र पहिरोका कारण यात्रुहरुले सधै हैरानी बेहोरेका छन् ।
सडक नै भासिएकाले तत्काल सडक सुचारु हुने सम्भावना नरहेको प्रहरीले जनाएको छ ।