काठमाडौ ।
नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले प्रदीप ज्ञवाली र आफ्नोबिचमा कुनै अन्तर्विरोध नरहेको बताएका छन्।
शनिबार गुल्मी-काठमाडौ सम्पर्क मञ्चको १२ औँ जिल्ला सम्मेलनको उद्घाटन सत्रमा विशिष्ट अतिथिको रूपमा उपस्थित विष्टले सो कुरा बताएका हुन्।
उनले व्यक्तिगत कार्यशैली, सोचाई , विशेषता र मान्यतामा व्यक्तिगत भिन्नता हुन सक्छन् तर राजनीतिक सिद्धान्त र बिचारमा मतभिन्नता नरहेको स्पष्ट पारेका छन्।
सम्मेलनमा अतिथिको रूपमा उपस्थित एमाले गुल्मी अध्यक्ष बालसिंह काउछाले स्वागत मन्तव्य राख्ने क्रममा सम्मेलनबाट नेतृत्व चयन गर्दा नेताहरूको धुरी राखेर भन्दा पनि गुल्मीको समग्र राजनीतिक, आर्थिक विकास र समृद्धिलाई समेत टेवा पुर्याउन सक्ने नेतृत्व छनौट हुनुपर्ने कुरा उठाएपछि सचिव विष्टले सो कुरा बताएका हुन् ।
फरक प्रसङ्गमा सरकारको कुरा गर्दै उत्साहित रूपमा गत शुक्रवार संसदमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं गुल्मी इन्चार्ज सूर्य थापाले उठाएका कुराको मुक्त कण्ठले प्रशंसा समेत गरे ।
चालु आर्थिक वर्षको झन्डै १० महिनाको अवधिमा २१ प्रतिशत मात्र विकास खर्च हुनु भनेको सरकारको असफलता भएको पनि उनले बताए।
गत वर्ष मात्रै ९ लाख ७५ हजार नेपाली श्रम स्वीकृति लिएर विदेश गएको १ लाख १० हजारले एनओसी लिएर पढ्नको लागि बाहिरिएको भन्दै सरकारको खरो आलोचनामा उत्रेका विष्टले यही परिस्थिति रहिरहे अबको ४/ ५ वर्षपछि नेपालका कलेजहरू खाली हुनसक्ने बताए।
अहिलेको अर्थतन्त्रको बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीका विवादित भनाई आएको भन्दै अर्थतन्त्र चलायमान बनाउन वैदेशिक मुद्रा सञ्चिति भन्दा विकास खर्चमा जोड दिनुपर्ने विष्टको भनाई छ।
गठबन्धन सरकारले राम्रो बाटो नसमाउँदा गणतन्त्र विरोधी सलबलाएको भन्दै आगामी ८४ सालको निर्वाचनका लागि गुल्मीमा पनि सबै एमाले नेता कार्यकर्ताहरू एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाई छ।
अन्त्यमा विष्टले अहिले नेकपा एमालेको नेता र नीतिमा कुनै समस्या नरहेको पनि बताएका छन् ।अहिले एमालेमा अध्यक्ष केपी ओली सर्वमान्य नेता र दशौँ महाधिवेशनले पास गरेको नीति सर्वमान्य रहेको पनि उल्लेख गरेका छन्।
गुल्मीका कार्यकर्तालाई आश्वासन दिँदै हरेक कार्यकर्ता नेताको नजरमा बराबर रहेको र कामको मूल्याङ्कनको आधारमा जिम्मेवारी दिइने पनि बताए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।