
काठमाडौं ।
इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले बुवाले देखाएको बाटोलाई समाएर इलामेली जनता अघि बढ्नु पर्ने बताएका छन् ।
बुधबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले सुवासले देखाउनु भएको बाटोबाट आफू कतै विचलित नहुने बताए। ‘उनले देखाएकाे उज्यालोको बाटोलाई समाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु’, उनले भने ।
इलाममा आफू माओवादी केन्द्र, नेकपा माओवादी र परिवार दलको साझा उम्मेदवार भन्दा यो चुनावी एकता मात्र नभएर कम्युनिष्ट पार्टीको एकताको सुरुवात भएको सुहाङले बताए । युवा र अनुभवी नेताको योगबाट मात्र समृद्ध नेपाल बनाउन सकिनेमा उनले जोड दिए ।
नेपाली समाज इन्द्रेणी जस्तै रङ्गिन भएको बताउँदै सुहाङले जातीय पहिचानको नाममा कसैलाई पनि उत्सृङ्खल भएर प्रस्तुत नहुन आग्रह गरे । सुख, दुःख, विकास सबै कुरा कुनै एउटा जातलाई मात्र नहुने बताउँदै उनले जातीय विभेदको अफवाह र भ्रम नफैल्याउन र त्यस्ता भ्रममा नपर्न उनले सबैलाई अनुरोध गरे । अब एकले अर्कालाई गाली गरेर होइन हाँसेर जनताको बिचमा जानु पर्नेमा सुहाङले जोड दिए।
इलामले विकासमा फड्को मारेको बताउँदै सुहाङले अझै धेरै काम गर्न बाँकी रहेको बताए । ती बाँकी काम पुरा गर्न सबै एक भएर लाग्नु पर्नेमा उनले जोड दिए।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।