भाद्र २२ दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य तथा रेडियो हापुरे एफएमका स्टेशन म्यानेजर बालकृष्ण पाण्डेमाथि आजे बिहान भएको कुटपिटको घटनाप्रति नेपाल पत्रकार महासंघ दाङ शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बबई गाउँपालिका बन्दका क्रममा आज बिहान पौने सात बजे रेडियोमा काम गर्न जान लाग्दा नेपाली काँग्रेस बबई गाँउपालिका संयोजक बलबहादुर बुढा नेतृत्वको समुहले बाटोमै आक्रमण गरेको थियो । बन्दमा सञ्चारका साधन निर्बाध रुपमा ओहोरदोहोर गर्न पाउने मान्यता विपरित उक्त समुहले शुरुमा पत्रकार पाण्डेले चलाइरहेको मोटरसाइकलमा ढुङ्गा प्रहार गरेको र मोटरसाइकल रोकेपछि पाण्डेले लगाएको हेलमेट थुतेर उनको टाउकोमा प्रहार गरेको हो । उक्त आक्रमणबाट पत्रकार पाण्डेको शरिरमा चोटपटक लाग्नुका साथै उहाँको मोटरसाइकलमा पनि क्षति पुगेको छ । नागरिकलाई सु–सूचित गराउने दायित्व निर्वाह गर्ने पत्रकारमाथि भएको कुटपिटको घटनाप्रति महासंघ कडा शब्दमा निन्दा गर्दछ विज्ञप्तिमा भनिएको छ । आक्रमणको घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा लिई कारबाही गर्न सरकारसँग माग गर्दछ । पत्रकारहरुलाई सुरक्षाको प्रत्याभूति दिलाउने वातावरण निर्माण गरी घाइते पत्रकारको उपचार तथा मोटरसाइकलको क्षतिपूर्तिको समेत व्यवस्था मिलाउन महासंघ सरकारसँग मागमाग गरेको छ ।