
डडेल्धुरा।
पहिरोमा पुरिएर डडेल्धुरामा एक जनाको मृत्यु भएको छ भने चार दिनदेखिको अविरल वर्षाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च भएको छ ।
अविरल वर्षाका कारण खानेपानी अवरुद्ध भएपछि पाईपलाईन मर्मतका लागि स्थानीयसँगै खानेपानीको मुहान पुगेका परशुराम नगरपालिका–३ बुङाका ५६ बर्षीय नवराज पनेरुको शनिवार बेलुकी पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । खानेपानी मुहानको माथिबाट पहिरो खस्दा स्थानीय आदर्शज्योती आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका पनेरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
बिहीबारदेखि निरन्तर वर्षा हुँदा सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको जनजीवन प्रभावित बनेको छ । यहाँका मुख्य राजमार्गहरु पहिरोका कारण अवरुद्ध भएका छन् । सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, डोटी, बैतडी, बझाङ, दार्चुला, अछाम र बाजुरा जिल्लाका मूल सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर सडक यातायात अवरुद्ध भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको साहुखर्कमा आइतबार दिउँसा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । राजमार्ग अवरुद्ध भएपछि सवारी साधन ठप्प बनेका छन् भने यात्रुहरू अलपत्र परेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो जाँदा शनिबारदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । दार्चुलाको शैलेशिखर नगरपालिका–६ पनेबाँजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिकाको साँणीघाँटीमा पहिरो जाँदा जयपृथ्वी राजमार्ग बन्द भएको छ । डडेल्धुराको रडुवा खोलामा पहिरोले केआईसिँह राजमार्ग बन्द भएको छ । डडेल्धुराको अनारखोलीमा पहिरोले दशरथ चन्द राजमार्ग बन्द भएको र प्रहरी परिचालन गरिएपछि एकतर्फी यातायात सेवा सुचारु भएको प्रहरीले जनाएको छ ।
पहिरोले डडेल्धुराको आलिताल गाउँपालिका–८ सुनखोलामा सडक अवरुद्ध भएको छ । अछामको साँफेबगर नगरपालिका–१३ बुढाबगरमा पहिरोले साँफे–मार्तडी सडक सडक अवरुद्ध भएको छ । राजमार्ग खुलाउन प्रयास भइरहेको भए पनि अविरल वर्षाका कारण उद्धार कार्य हुन नसकेको प्रहरीले जनाएको छ । लागातार वर्षा भइरहेकाले अन्यस्थानमा पनि पहिरो जान सक्ने खतरा बढेको छ । अविरल वर्षाका कारण अधिकांश खानेपानी योजनाहरु भत्किदा खानेपानी आपुर्तिमा कठिनाई उत्पन्न भएको छ ।
सुदूरपश्चिममा मनसुनजन्य विपद्को उच्च जोखिमका कारण विपद् प्रतिकार्य गर्न ११ सय प्रहरी तैनाथ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । सुदूरपश्चिममा सम्भावित विपद्को समयमा उद्धार कार्यका लागि प्रदेशका सबै प्रहरी युनिटलाई ‘हाइ अलर्ट’मा राखिएको छ । प्रदेशका सबै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरी चौकीमा कार्यरत प्रहरी जनशक्ति तुरुन्त परिचालित हुने गरी तैनाथ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए । स्थानीय प्रशासनले विपद् जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।