२८ भदौ , काठमाडौँ – सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालको रिट खारेज गरेको छ | प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह रावत र पुरुषोत्तम भण्डारीको बृहद् पूर्ण इजलासले डीआईजी सिलवालको रिट मंगलबार खारेज गरेको हो । सरकारले चार वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको छ ।
अदालतले अर्यालको कार्यसम्पादन मूल्यांकन अंक एक सय ५४ दशमलव ४ र सिलवालको एक सय ५२ दशमलव २ देखिएको भन्दै सिलवालको मागदाबी पूरा नहुने ठहर गरेको हो । यसैबीच,सर्वोच्चले रिट खारेज गरेसँगै डीआईजी सिलवालले मंगलबार साँझ नै विज्ञप्ति जारी गरी पदबाट राजीनामा दिएका छन् । सात महिनासम्म न्यायका लागि लडेको भन्दै उनले अन्यायमा पर्नेहरुको पीडा आफूले भोगेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसअघि सिलवालले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति गरेको बेला आफूलाई नगरेको भन्दै सर्वोच्व अदालतमा रिट दायर गरेका थिए ।