हिजोआज हाडजोर्नी दुख्ने समस्या लिएर अस्पताल पुग्ने मानिसको संख्या बढेको छ । शरीरको हाड तथा तिनका जोर्नी दुख्ने, सुन्निने र पाक्ने समस्या लिएर बालकदेखि वृद्धसम्म उपचारका लागि आउने गरेका छन् । शरीरमा भएका लामा–लामा हाड तथा तिनका जोर्नीमा कीटाणुको संक्रमण भई हुने यस्ता इन्फेक्सन तथा दुखाइले कतिपय व्यक्तिलाई जिन्दगीभर अपांगसमेत गराएको छ । विशेष गरी हाड वा त्यसको जोर्नी पाक्ने रोगलाई हाडजोर्नी पाक्ने रोग भनिन्छ । यस्तो संक्रमण संसारका एक प्रतिशत मानिसलाई देखिने गरेको विभिन्न स्वास्थ्य अनुसन्धानले देखाएको छ ।
हाड तथा जोर्नी पाक्ने समस्या कीटाणुका कारणले हुने गर्छ । विभिन्न माध्यमबाट कीटाणु हड्डी वा जोर्नीभित्र प्रवेश गरेपछि त्यो ठाउँलाई खराब असर पार्न थाल्छ । हड्डी पाक्ने समस्या सबै उमेर–समूहका मानिसमा हुने भए पनि बढी मात्रामा ‘टिनएज’मा (१३ देखि २० वर्षसम्मका किशोर–किशोरी)मा बढी देखिने गरेको छ । पाका उमेरका व्यक्तिमा जो शारीरिक रूपमा कमजोर छ वा जसमा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुन्छ, त्यस्ता व्यक्तिमा यसको संक्रमण बढी देखिन्छ ।
कसरी हुन्छ हड्डी तथा जोर्नीमा संक्रमण ?
रगतको माध्यमबाट हड्डी तथा जोर्नीमा कीटाणुको प्रवेशसँगै संक्रमण सुरु हुन्छ । खासगरी दुर्घटनामा परेका वेला काटेको ठाउँबाट बाहिरको कीटाणु रगतको माध्यमबाट हड्डी तथा जोर्नीमा प्रवेश गर्छ । त्यसलगत्तै त्यहाँ आफ्नो घर बनाउँछ र संख्या वृद्धि गर्न थाल्छ । ‘स्टाफाइलोकोकस’ भन्ने कीटाणु छ, जसको काम पिप उत्पादन गर्नु हो । यो कीटाणु सबै समूहमा भेटिन्छ । यसको अलावा लागुऔषध प्रयोग गर्ने व्यक्ति तथा अन्य संक्रमक रोगबाट ग्रस्त व्यक्तिमा अन्य कीटाणु पनि भेटिन्छन् ।
यो कीटाणु शरीरमा रगतको माध्यमबाट हाड तथा जोर्नीमा पुग्छ । विशेष गरी लामा–लामा हाडका जोर्नीमा गएर ती कीटाणु जम्मा हुन्छन् । त्यसबाट हड्डीमा इन्फेक्सन हुन थाल्छ । हड्डी पाक्ने अर्को कारण क्षयरोग पनि हो । हाडजोर्नीमा हुने क्षयरोगले यस्तो समस्या पार्छ । क्षयरोगका कीटाणुले खास गरी मेरुदण्डको हड्डीमा इन्फेक्सन गर्ने र मान्छेलाई प्यारालाइसिस बनाउने काम गर्छ । त्यसैगरी ढाड बांगो–टिंगो बनाउने काम गर्छ ।
किशोर तथा युवामा बढी समस्या देखिनुको कारण के हो ?
किशोर तथा युवा अवस्था भनेको बढी खेल्ने, चल्ने, कुद्ने अवस्था हो, यस्तो वेलामा चोटपटक लाग्न सक्छ । चोटपटक जति बढी हुन्छ, त्यति नै बढी हड्डीमा संक्रमण हुने सम्भावना हुन्छ । त्यसबाहेक ढलमा काम गर्ने, गाईभैँसीको गोठमा काम गर्ने व्यक्तिलाई लडेर चोटपटक लाग्यो भने टिटानसका कीटाणुसमेत शरीरमा प्रवेश गर्छन् र ढाडमा बढी इन्फेक्सन हुने सम्भावना रहन्छ । यस्तै वृद्ध उमेरका कमजोर व्यक्ति जोसँग रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यस्ता व्यक्तिलाई पनि हाड तथा जोर्नीमा समस्या हुन्छ । एचआइभी, मधुमेहका रोगी, लागुऔषध प्रयोगकर्ता, सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोगकर्तामा पनि यसखालको समस्या बढी हुन्छ । किनकि, तिनीहरूको रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ, जसका कारण कीटाणु बढी क्रियाशील हुन्छन् ।
कसरी जम्छ हड्डीमा पिप ?
पिप भनेको मरेका कीटाणु तथा हाम्रो शरीरले कीटाणु मार्नका लागि निकालेको ‘हवाइट ब्लड सेल’को समिश्रण हो । अर्थात् मरेका कीटाणु, मरेका हाम्रा शरीरका तन्तु र मरेका हड्डी जम्मा भएपछि पिप बन्छ । पिप उत्पादन गर्ने खालको कीटाणुलाई ‘स्टाफाइलोकोकस’ भनिन्छ । त्यो हाम्रो शरीरको छालामा बसिरहेको हुन्छ । तर, जुन समयमा चोटपटक लाग्छ, छालाको कीटाणु रगत हुँदै हड्डी तथा जोर्नीसम्म पुग्छ । त्यसपछि त्यहाँ पिप जम्मा हुन्छ । त्यहाँ जम्मा भएको पिप निकाल्न स्पानई सर्जरी नगरी हुँदैन ।
स्टाफाइलोकोकस कीटाणु प्रवेश गरेपछि सबैभन्दा बढी अड्केर बस्ने भनेको लामो हड्डीमा हो । खुट्टाको हड्डी, फिलाको हड्डी, हातको लामो हड्डीको टुप्पामा गई बसेको हुन्छ । त्यस्तै कहिलेकाहीँ टिबीको कीटाणु हड्डीमा गई बसेको हुन्छ । जसले हड्डी कमजोर गराउने काम गर्छ । तर, यो जीवाणु लामो हड्डीभन्दा पनि ढाडमा देखा पर्छ । मेरुदण्डमा संक्रमण गरेपछि त्यसभित्रको मेरुदण्डमा खराब असर गर्छ । त्यसले कहिलेकाहीँ मान्छेलाई प्यारालाइसिससमेत बनाउँछ ।