३० भदौ , स्याङ्जा – पुतलीबजार नगरपालिका-१, बिष्णुपुधेरा निर्माणधिन त्रिभुवन आदर्श बहुमुखी क्याम्पसको भवन नियम विपरित निर्माण भैरहेको पाइएको छ । निर्माण भैरहेको भवनमा प्रयोग भएका इँटाहरु कमसलखालका, बालुवामा माटो मिसिएको र गिट्टी एउटै लेभलको नभएको भेटिएको हो ।
भवनको निर्माण श्री गिता निर्माण सेवालाई दिईएपनि समयमै निर्माण कार्य सम्पन्न हुन सकेको छैन । भवनको निर्माण गएको भदौ १४ गते सम्ममा सक्नु पर्ने थियो तर ठेकेदारको लापरवाहीले गर्दा समयमा सम्पन्न हुन नसकेको क्याम्पसका कार्यबाहक अध्यक्ष विशवप्रेम अधिकारीले बताए ।
भवन निर्माण गर्दा एउटा नक्शा थियो भने भवन निर्माण गर्दा गर्दै अर्कै प्रकारको नक्शा अनसार निर्माण गर्न लागिएको छ । सुरुमा निर्माण गरिएका भवनको बीचमा खम्वा राख्नु पर्ने भन्दै भवनलाई छिया छिया हुने गरि भत्काईएको छ ।
‘प्राविधिकले सहि नक्शा नदिदा भवन भत्काएर पुन: निर्माण गर्नुपरेको हो ।’ निर्माण ब्यवासी अर्जुन कार्कीले फोनबाट भने, ‘पुन: निर्माण गर्दा समयमै नसकिएको हो र खर्च पनि बढेको छ । उनले गलत नक्शाका कारण समयमै नसकिएको बताए पनि दुई तलाको हुने भवन अहिले सम्म पहिलो तलाको समेत डलान हुन सकेको छैन ।
दश जोड दुई देखि डिग्री तह सम्मको अध्यापन हुने जिल्ला सदरमुकामकै ठुलो क्याम्पसको भवनको निर्माण कार्य ढिलाई र अबैध तरिकाले अगाडी बढ्दा समेत अहिले सम्म सम्बन्धीत निकाय र सरोकारवाला निकायको ध्यान जान सकेको छैन ।
गिट्टीको एउटै मात्रको नभएको र बालुवामा माटो मिसिएको छ नि भनेर प्रस्न गर्दा कार्कीले त्यस्तो नभएको प्रतिक्रिया दिए । उनले समयमा नक्शा नआएर समयमा भवन निर्माणको काम नसकिएको बताए । भवन परिवर्तन गर्न फुटाएको प्रतिक्रिया दिए ।
यो खबर आजको दैनिक पत्रमा छ ।