०२ असोज , काठमाडौँ – प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मतदान शुरु भएको छ । प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको हो ।ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा साँझ ५ बजेसम्म मतदानको समय तय गरिएको छ ।
निर्वाचनबाट प्रदेश नम्बर २ का स्थानीय तहबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुने छन् ।मतदानका लागि अधिकांश मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताको लाम लागेको छ ।दुई दशकपछि हुन थालेको स्थानीय निर्वाचनमार्फत् जनप्रतिनिधि चयन गर्न मतदाताहरु बिहान सबेरैदेखि लाम लागेका हुन् ।
यो प्रदेशका ८ जिल्लामा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तह छन् । मतदानबाट ६ हजार ६ सय २७ जनप्रतिनिधि चुनिने छन् ।
जसका लागि ३६ हजार ९ सय ९३ उम्मेद्वार मैदानमा छन् । प्रदेश नम्बर २ का ८ जिल्लामा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् ।मतदानका लागि २ हजार १ सय ६६ मतदान स्थल र ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएका छन् ।मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न यी स्थानीय तहमा ७० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।त्यसैगरी निर्वाचन आयोगले ३१ हजार ५ सय कर्मचारी खटाएको छ ।