काठमाडौं।
लुम्बिनीमा यही फागुण २० गते ५ सय जनालाई अस्थायी भिक्षु (अल्पकालीन प्रबज्या) बनाइने भएको छ ।
अखिल नेपाल भिक्षुमहासंघ, थाई इण्डिया – नेपाल धर्मदूत र नेपालले थाईल्याण्डको धम्मकाय फाउण्डेशनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अन्तर्गत भिक्षु बनाउने कार्यक्रम गर्न लागेको हो।थाई राजकीय विहार सहआयोजक र प्रबज्या नेपालले व्यवस्थापन गर्ने छ । यसमा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, धर्मोदय सभा लगायत संघसंस्थाको सहयोगी भूमिकामा रहने छ ।
लुम्बिनीलाई विश्वको शान्ति तथा आध्यात्मिक केन्द्रको रुपमा प्रचारप्रसार गर्ने, मानिसहरुमा आध्यात्मिक ज्ञान तथा चेतना वृद्धि गराउने र लुम्बिनी घुम्न आउने पर्यटकहरुको संख्या वृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थाई इण्डिया – नेपाल धर्मदूतका अध्यक्ष भिक्षु थावरले पत्रकार भेटघाटमा जानकारी गराए।
भिक्षु थावरका अनुसार फागुण २० गते लुम्बिनीमा भिक्षु अर्थात् श्रामणेर बनाइने छ । उनीहरु १५ दिनसम्म भिक्षु भएर बस्नुपर्ने छ । थाईल्याण्डका प्रसिद्ध भिक्षु फ्रा फ्रोमसीनावादीको उपाध्याय र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरको उपस्थितिमा भिक्षु (प्रबजित) बनाइने छ । यसमा नेपालीहरुसंगै थाईल्याण्डका नागरिकहरु पनि सहभागी हुने छन्।
त्यसपछि फागुण २२ गते लुम्बिनी परिसरमा भिक्षाटन र फागुण २४ गते लुम्बिनीमा दीप प्रज्वलन गरिने छ । त्यस्तै चैत्र २ गते बिहान देवदह, बुटवल र रामग्राममा र दिउँसो लुम्बिनीमा धम्मयात्रा हुनेछ । चैत्र ३ गते सहभागीहरुलाई प्रमाणपत्र वितरण र चैत्र ४ र ५ गते कपिलवस्तुमा भिक्षाटन कार्यक्रमसकिएपछि भिक्षु भएकाहरु गृहस्थ जीवनमा फर्किने छन्।
बाँकी दिनमा बुद्धको व्यावहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाइने प्रबज्या समाजिक नेपालका सचिव भिक्षु पञ्ञामूर्तिले पत्रकार भेटघाटमा बताए ।भिक्षु बन्न इच्छुक व्यक्तिले फागुण १४ गतेभित्रमा नाम दर्ता गराउन सक्नेछ । कार्यक्रम भाग लिन कुनै शुल्क लाग्ने छैन।पुल्चोकस्थित अक्षेश्वर महाविहार र लुम्बिनी हलमा नाम दर्ता गराउन सम्पर्क केन्द्र तोकिएको छ ।
‘ जुनसुकै समुदाय, देशका इच्छुक व्यक्तिले भिक्षु बन्नका लागि नाम दर्ता गराउन सक्नेछ । यसमा जात, थरको बन्देज छैन ।’ अखिल नेपाल भिक्ष्ँुमहासंघका सचिव भिक्षु निग्रोधले भने ।
भिक्षु हुञ्जलेसम्म दिनको एक छाक मात्र खाने सहित दश वटा विनयनियम पालना गर्नुपर्ने छ । १५ दिनभित्रमा सहभागीहरुले भिक्षु जीवनको अनुभूति गर्दै बुद्धको ज्ञान र दर्शनको आधारभूत विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्राप्त गर्ने छन्।यसले गृहस्थ जीवनमा सकारात्मक सोच, शान्ति र तनावरहित तवरले जीवन बिताउन टेवा पु¥याउने ध्यान गुरु भिक्षु बोधिज्ञान महास्थविरको भनाई रहेको छ ।
सो कार्यक्रम २०६८ सालमा १ सय ११ जना भिक्षु बनाएसंगै निरन्तर सञ्चालन हुँदै आएको छ ।यस अघि १ हजार १ सय १२ जना, १ सय ५० जना, १ हजार १ सय १९ जना , ५ सय जना र १ हजार २ सय ५० जना गरी अलग अलग भिक्षु बनाउने कार्यक्रम सम्पन्न भइसकेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।