उदयपुर ।
नेकपा एमालेको २३ वटा जनवर्गिय संगठन मध्ये सबैभन्दा सशक्त र जुझारु संगठनको रुपमा रहेको राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल उदयपुर जिल्ला शाखाको दोस्रो जिल्ला अधिवेसनले खिलराज कार्कीको अध्यक्ष्तामा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ ।
शनिबार नेकपा एमाले जिल्ला पार्टी कार्यालयमा भएको दोस्रो जिल्ला अधिवेसनले आगामी तीन वर्षकोलागि कार्कीको नेतृत्वमा नयाँ जिल्ला कमिटी गठन भएको हो ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल कोशी प्रदेश इन्चार्ज तथा संविधानसभा सदस्य मधु गुरुङको प्रमुख आतिथ्यता, कोशी प्रदेश अध्यक्ष जिबि थुलुङको विशेष आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गुरुङले पार्टीका जनवर्गिय संगठनहरुको भूमिका महत्वपूर्ण हुने गरेको र विधागत रुपमा काम गर्नु पर्ने भएकोले हामी सबैले आ आफ्नो सीप कला र क्षमता अनुसार पार्टीमा योगदान गर्नु पर्ने बताए ।
गुरुङले गीत संगीत, कला, भाषा साहित्यका क्षेत्रमा तथा सांस्कृतिक क्षेत्रमा पार्टीले राज्यलाई गर्ने योगदान र बैचारिक रुपले व्यक्तिगत रुपमा गरिने योगदान पनि राज्यकालागि निकै महत्वपूर्ण हुने भएकोले पार्टीले सांस्कृतिक पक्षलाई पनि मोर्चागत र जनवर्गिय संगठनका रुपमा अघि सारेको बताए ।
विशेष अतिथि तथा कोशी प्रदेश अध्यक्ष थुलुङले पार्टीको हरेक कार्यक्रममा पार्टीको साँस्कृतिक मोर्चाको भूमिकाले महत्वपूर्ण स्थान लिने गरेको र निर्वाचनका बेला मात्र होइन पार्टीको संगठन निर्माणमा समेत साँस्कृतिक मोर्चाको निर्णयात्मक भूमिका रहने गरेको बताए ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल उदयपुर शाखाका उपाध्यक्ष विनोद कुमार मास्केको अध्यक्षतामा भएको सो अधिवेसनले उपाध्यक्षमा पुनः विनोद मास्केलाई नै चयन गरेको छ भने महिला उपाध्यक्षमा प्रमिला खड्का,सचिवमा खिलराज बस्नेत,उपसचिवमा अजित विश्वकर्मा, कोषाध्यक्षमा मिरा गुरागाई, सह कोषाध्यक्षमा रुपा खड्का सर्वसम्मत चयन भएका छन् ।
यसैगरी कार्यसमितिका सदस्यहरुमा निकोस परियार,संजित वि.क, कमल खत्री,भक्तमान राई, अशोक राई,जनक लेखी, टिकाराम वि क, भेषराज खड्का र पवित्रा घिमिरे चयन भएका छन् ।
सो कार्यक्रममा प्रगतिशील लेखक संघ नेपाल उदयपुरका अध्यक्ष माधव पोखरेल, नेकपा एमाले उपसचिव गंगा राई, कोशी प्रदेशसभा सदस्य गीता रेग्मी, राष्ट्रिय जनसांस्कृतिक महासंघ की केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज सीमा कुमारी मास्के लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए भने संगीता वि.क, निकोस वि.क लगायतकाले गीत गाएर कार्यक्रमलाई रमाइलो बनाएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।