![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4a4e0a58de0a4b0e0a4bfe0a4b5e0a4bf-e0a4aee0a588e0a4a6e0a4bee0a4a8e0a4aee0a4be-e0a4abe0a58de0a4b2e0a4a1e0a4b2e0a4bee0a487e0a49f.png)
काठमाडौं ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्डको फ्लडलाइट जडान तथा प्यारापिट निर्माणका लागि आह्वान गरिएको बोलपत्र स्वीकृत भएको छ ।
सहरी विकास मन्त्रालयको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले बिहीबार फ्लडलाइट र प्यारापिटका निर्माणको लागि छुट्टाछुट्टै कम्पनीको बोलपत्र स्वीकृत गरिएको जनाएको छ । मन्त्रालयले गत ५ मंसिरमा सूचना आह्वान गरेको थियो । फ्लडलाइट जडानका लागि ललितपुरको विशन–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख ९१ हजार ६ सय ५३ रुपैयाँमा ठेक्का पाएको छ ।
प्यारापिटका लागि बिकेओआई–केसिडिसी–बिजी जेभी, टंगलले दर्ता गराएको ४३ करोड ७७ लाख ३० हजार १३ रूपैयाँको बोलपत्र स्वीकृत भएको हो ।
प्रधानमन्त्री केपी ओलीले आफूले पदभार ग्रहणपछि तीन सय दिनभित्र त्रिवि मैदानको स्तरोन्नति निर्देशन दिएका थिए । यो मैदान पहिला त्रिभुवन विश्वविद्यालय मातहत नै थियो । कानुनी अड्चनबीच काम नहुँदा सरकारले नै सहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएर काम बढाएको हो ।
नेपालले आईसिसी पुरुष विश्वकप लिग–२ मा चार वर्षको मान्यता पाएपछि सरकारको ध्यान त्रिवि मैदानमा पुगेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।