खोटाङ।
खोटाङको दिक्तेलबजारमा उद्घाटन भएको “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१”मा ‘बाँस दाइ’ अर्थात भरिबहादुर पर्तेल आकर्षणको केन्द्र बनेका छन् । बाँसकै शीर–पाउ पहिरिएका म्याग्दी, दरवाङ गाउँपालिका–२ का पर्तेल सम्मेलन स्थलमा आकर्षण बनेका हुन् ।
बाँसबाट मानब जीवनमा आवश्यक सबै काम गर्न सम्भव रहेको कुरा स्थापित गर्न तथा बाँसको प्रबद्र्दन गर्न पर्तेलले बिगत ६ बर्षदेखि बाँसकै पहिरन लगाउँदै आएका छन् । टोपी, कोट, सर्ट, हाप पाईण्ट, जुत्ता, मास्क, चस्माको कभर लगायत सबै बाँसकै पहिरन लगाएर सम्मेलनमा सहभागी बनेका ‘बाँस दाइ’सँग फोटो खिच्न तथा कुरा गर्न होडबाजी चलेको छ । बिकट गाउँमा जन्मिएर हुर्किएर उनले बाँसबाट निर्मित झोला, घुम, जुत्ता लगायतका समाग्री बोकेर हिँड्ने गरेका छन् । बाँसको पहिरनमा हिँडडुल गर्न तथा खान–बस्न असहज हुने गरेको बाँस दाईले जनाए ।
निरन्तर बाँसकै सीप गर्दै आए पनि आम्दानी भने गर्न नसेकेको पर्तेलले बताए । पहिरो तथा सडकले थोरै जग्गा पनि सकिएको उनको भनाई छ । निम्न आर्थिक अवस्था भए पनि शौखकै रुपमा बाँसजन्य सामाग्री निर्माणमा जुटिरहेको भरिबहादुरले सुनाए । बाँस दाइ देशका विभिन्न स्थानमा हुने बाँससँग सम्बन्धित हरेक कार्यक्रममा सहभागी बन्दै आएका छन् ।
“जहाँ बाँस त्याहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस” भन्ने नारासहित फागुन १५ गते बिहिबारदेखि १७ गतेसम्म सञ्चालन हुनेगरी बाँस सम्मेलन उद्घाटन गरिएको छ । दिक्तेलबजारस्थित माटिकोरे कभर्ड हलमा संघीय बन वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले यलम्बर बाजा बजाउँदै बाँस सम्मेलनको उद्घाटन गरेका हुन्। स्थानीय स्तरमा बाँसबाट निर्माण गरिने यलम्बर बाजालाई किरात समुदायले परम्परागत मौलिक बाजाको रुपमा लिने गरेको छ । बाँसको बहुआयामिक महत्व तथा उपयोगिता दर्शाउने लगायतका उदेश्य राखी सम्मेलनको आयोजना गरिएका आयोजकले जनाएको छ ।
सम्मेलनमा संघीय मन्त्रीहरु, विभिन्न प्रदेशका मन्त्रीहरु, सांसदहरु, गभर्नर महाप्रसाद अधिकारी, विभिन्न बिश्वबिद्यालयका प्राध्यापक डाक्टरहरु, बन मन्त्रालयका विशिष्ट कर्मचारीहरु लगायतको उपस्थिती रहेको छ । यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, बाँस ब्यवसायी लगायत ब्यक्तित्वहरुको उपस्थिती रहेको मेयर तीर्थराज भट्टराईले बताएका छन्।

सम्मेलनमा आमन्त्रित तथा सहभागी विशिष्ट पाहुनाहरुलाई होटल ब्यवसायी संघ खोटाङसँगको समन्वयमा आवासको प्रबन्ध मिलाइएको छ । जिल्लाबाहिरबाट बिज्ञहरुसहित करिब साढे तीन सयको हाराहारीमा सहभागी भएको नगरपालिकाले जनाएको छ । सम्मेलनमा जिल्ला बिहिरबाट २८ र जिल्लभित्रबाट ५२ बढी स्टल राखिएको छ ।
बाँसको संरक्षण, ब्यवस्थापन, दीगो उपयोग र उद्यमशीलता, प्रकृतिको संरक्षण, स्थानीय रोजगारी तथा राष्ट्रिय अर्थतन्त्रमा बृद्दि गरी समृद्द स्थानीय तह, प्रदेश र राष्ट्र बनाउने सम्मेलनको मुख्य ध्यये रहेको छ । तीन दिने सम्मेलन अवधीमा बाँसजन्य सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रि बितरणका साथै बिज्ञहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत लगायतका कार्यक्रमहरुको तय गरिएको छ । सम्मेलनमा बाँससँग सम्बन्धित ४४ जना विशिष्ट व्यक्तिबाट २३ वटा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम रहेको छ ।
सम्मेलनले तीन दिने सम्मेलनको मात्र अर्थ नराखी बाँससम्बन्धी राष्ट्रकै नीति निर्माण गर्ने सम्मेलनको विशिष्ट अर्थ राख्ने नगरप्रमुख भट्टराईको भनाई छ । सम्मेलनबाट दिक्तेल घोषणापत्र सार्बजानिक गर्ने र सो घोषणापत्रकै आधारमा नेपालभर लागू हुने बाँस सम्बन्धी नीति तय हुने नगरप्रमुखले सुनाए ।
सम्मेलनको क्रममा यलम्बर बाजा, बाँसुरी, बिनायो लगायत बाँसजन्य बाजाहरु बजाउने कार्यक्रम राखिएको छ । बाँसको महत्व र उपयोगिता दर्शाउन तथा प्रबद्र्दन गर्न लिङ्गे पिङ खेल्ने, बाँसमाथि चढेर भाले झिक्ने प्रतियोगिता लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।
करिब ४७ लाख रुपैंयाँ बराबरको खर्च हुने अनुमान गरिएको बाँस सम्मेलनका लागि नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंयाँ मात्र बजेट बिनियोजन गरिएको छ । अन्य खर्चका लागि वाँस सम्बन्धी काम गर्ने निकायहरु, विभिन्न मन्त्रालय, संघसंस्था लगायतबाट नगरपालिकाको खातामा आर्थिक सहयोग जुटेको उल्लेख छ । अनुमानित खर्चमा थप हुन सक्ने आँकलन नगरपालिकाको रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।