
काठमाडौँ ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले कुनै पनि विचारका आधारमा सञ्चारमाध्यमले पत्रकार माथि विभेद गरे प्रेस चौतारी नेपाललाई त्यो सह्यै नहुने बताएका छन्।
बुधवार प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेशको दोस्रो प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले पत्रकारलाई कारबाही डण्डा चलाएर तह लगाउने मानसिकताबाट मिडिया सञ्चालकहरूलाई मुक्त हुन आग्रह गरे । पत्रकारलाई जिम्मेवारी दिएर र उत्प्रेरित गरेर नै तह लगाउन सकिने उनले प्रष्ट पारे ।
प्रेस चौतारी आबद्ध पत्रकारहरूले लेखनसँग संगठनलाई पनि जोडेर अघि लैजानु पर्नेमा उनले जोड दिए । त्यसो गर्न सकियो भने पत्रकारको पेसागत हित र संरक्षण गर्न सकिने बस्नेतको धारणा छ । ‘ दाइ जय नेपाल भन्दा केही पनि नहुने, प्रेस चौतारी नेपालको सदस्य हुँदा कसैले दुःख दिन्छ भने अबका दिनमा प्रेस चौतारी नेपाल सहेर बस्दैन, प्रेस चौतारी नेपाल भए बापत कुनै मिडियाले पत्रकारलाई दुःख दिन्छ भने अब हामी ती मिडिया हाउस चल्न दिने छैनौँ, प्रेस चौतारीलाई दुःख दिने साहुजीहरू आफ्नो मिडिया हाउस बन्द गर्न तयार भएर बसे हुन्छ’, उनले भने ।
उनले प्रेस चौतारी नेपालका सदस्यहरूलाई ढुक्कका साथ हामी प्रेस चौतारीका सदस्य हौँ भनेर काममा उत्रिन उनले निर्देश दिए । प्रेस चौतारी अब्बल पत्रकारको दस्ता भएकोले कसैसँग डराउन आवश्यक नरहेको उनले स्पष्ट पारे ।
अहिले समृद्ध नेपाल, सुखी नेपालीको अभियान बोकेर हिँड्नु भएका प्रधानमन्त्रीको पक्षमा समाचारको एजेण्डा बन्नु पर्नेमा उनले जोड दिए । देश बनाउने नायकलाई हिलो छ्याप्ने काम भएको बताउँदै उनले अब समाचार सेटिङको थ्यौरीलाई अब व्यवहारमा उतार्नु पर्ने उनको धारणा छ ।
पत्रकार बन्नको लागि केही विशेष क्षमता चाहिने बताउँदै बस्नेतले समाज परिवर्तनको एजेण्डा नबोकी पत्रकार बन्न नसकिने स्पष्ट पारे । ‘विरोधीसँग जुध्ने प्रतिरोधी क्षमता र धम्कीको सामना गर्ने क्षमता हुँदासम्म पत्रकार बन्न सकिँदैन’, उनले भने ।
अहिले देश बनाउनु पर्छ भनेर लागेका दुई ठुला दलको सरकार विरुद्ध विदेशीलाई समेत प्रयोग गरेर केही शक्ति लागेका बताउँदै बस्नेतले प्रेस चौतारी आबद्ध पत्रकारहरूले त्यसलाई चिर्नु पर्ने बताए । अन्य देशका देश बनाउनको लागि त्यहाँका नेताहरूको कथा लेख्ने, पढ्ने र पढाउने पत्रकारले नेपाल बनाउन केपी ओलीको योगदानको कथा पनि लेख्नु र पढाउनु पर्ने बस्नेतले स्पष्ट पारे ।
अब अरूले लेखेको समाचार कपि पेष्ट गर्ने होइन समाचारमा आफ्ना एजेण्डा सेटिङ गरेर समाचार तयार गर्नुपर्ने बस्नेतले बताए । पुँजीवादीले लेख्ने समाचारको एजेण्डा र प्रगतिशील पत्रकारले बनाउने समाचारको एजेण्डा फरक हुने कुरा बुझ्नु पर्नेमा उनले जोड दिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।