
काठमाडौं।
नेपाल भाषा अकाडेमीले यही वैशाख २७ गते शनिवार नेवाः आदिवासी प्रविधि र शिल्प ज्ञान सम्मेलन गर्ने भएको छ ।
अकाडेमी भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा मात्र नभई सीमित हुन नहुने भन्दै पहिलो पटक प्रविधि र शिल्प ज्ञानको विषयमा सम्मेलन आयोजना गर्न लागिएको अकाडेमीका चान्सलर मल्ल के सुन्दरले पत्रकार भेटघाटमा जानकारी दिए।
चान्सलर मल्लका अनुसार सो सम्मेलनमा नेवाः काष्ठकला र शिल्पको विषयमा वास्तुकलाविद् सृजना प्रजापति, नेवाः खेती प्रणालीका बारेमा विज्ञ बुद्धिबहादुर डंगोल र नेवाः बस्ती र शहरी योजनाबारे इन्जिनियर पद्यमसुन्दर जोशीले कार्यपत्र प्रस्तुत गर्नेछन । त्यस्तै चान्सलर मल्ल स्वयंले नेवाः सभ्यता र ज्ञान विषयक मुख्य अवधारणागत पत्र प्रस्तुत गर्ने छन् ।
नेवाः समुदाय भित्र नभई ज्ञान र प्रविधिको भण्डार रहेको तथ्य स्थापित गर्ने लक्ष्यले सम्मेलन गर्न लागिएको चान्सलर मल्लको भनाई रहेको छ । नेवाः समुदाय भाषिक,सांस्कृतिकसंगै विद्यमान ज्ञान र प्रविधिको हिसाबले एउटा सभ्यता हो । ‘ यसलाई प्रमाणित गर्न बाँकी छ । यही दिशामाको प्रस्थान बिन्दुको रुपमा यस बारे सम्मेलन गर्न लागिएको हो।’ उनले भने।
नेवाः समुदायमा प्रचलित धातुकला, हात र खुट्टा दुखेमा परम्परागत रुपमा मसाज गर्ने प्रविधि लगायत विषयमा क्रमशः सम्मेलन गर्दै जाने पनि अकाडेमीको योजना रहेको छ ।
सम्मेलनमा प्राध्यापकत्रय संगीता सिंह, विमप्रसाद श्रेष्ठ र अञ्जना सिंहले सहजकर्ताको भूमिका निर्वाह गर्ने छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सो सम्मेलनको उद्घाटन उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले गर्ने बताइएको छ ।
नेवाः समुदाय विशेषतः भाषा लिपि कला, साहित्य, संस्कृति र सम्पदालाई केन्द्रविन्दु बनाएर मात्र कार्यक्रम गर्दे आएकोमा यस पटक प्रविधिलाई लिएर हुन लागिएको यो सम्मेलनलाई नौलो रुपमा हेरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।