
काठमाडौं ।
नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
शनिबार नेपाल पत्रकार महासंंघ ललितपुर शाखाको कार्यमूलक बैठकले एक कार्यक्रमकाबीच ५ लाख रुपियाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरेको हो । सो राशी बराबरको अक्षयकोष ललितपुर जिल्लाका समाजसेवी सिद्धिबहादुर महर्जनले उहाँकी स्वर्गीय धर्मपत्नी हीराकुमारी महर्जनको स्मृतिमा महासंघ शाखालाई हस्तान्तरण गर्नुभयो ।
अक्षयकोष घोषणा एवं हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र महासंघ शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । अक्षयकोषको घोषणा एवं हस्तान्तरण गर्दै समाजसेवी महर्जन परिवारले आम जनतालाई सुसूचित गर्ने सञ्चारकर्मी एवं पत्रकारको हकहित र प्रोत्साहन निम्ति सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताउनुभयो ।
त्यस्तै शाखाका अध्यक्ष कार्कीले हीरा–सिद्धि पुरस्कार शाखाको हरेक वार्षिक साधारण सभामा जिल्लामा क्रियाशील दुई पत्रकारलाई प्रोत्साहनस्वरुप पुरस्कृत गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यो पुरस्कार स्थानीय सरोकार वा धर्म, संस्कृति, कलामा कलम चलाउने क्रियाशील पत्रकारलाई प्रदान गरिनेछ ।’ अक्षयकोषमा प्राप्त भएको रकमको ब्याजबाट पुरस्कार प्रदान गरिनेछ
।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।