
काठमाडौं ।
बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको छ ।
सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौंमा भएको छ । मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन । बागमतीमा ३ सय ४३, कोशीमा २ सय ४६, गण्डकी २ सय ३४, लुम्बिनी २ सय ७, सुदूरपश्चिम १ सय ७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ ।
मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ । जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौंमा १ सय ३६ जनालाई पुष्टि भएको छ । डेङ्गु सङ्क्रमण भएपछि एक्कासि उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड–जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने गर्छ । डेङ्गुका कारण वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने, शरीरमा रगत जम्नेलगायतका लक्षण देखा पर्छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।