
काठमाडौं।
२ करोडभन्दा बढी मूल्यको गरगहनासहित काठमाडौँबाट ४ जना पक्राउ पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–२२ स्थित प्युखा कृष्णचोकमा रहेको ‘मुन्ना जेम एण्ड ज्वेलर्स’ नामक सुनचाँदी पसलबाट करिब २ करोड १ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सुन, हिरा तथा बहुमूल्य पत्थरका गहनासहित चार जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जानकरीदिएको छ।
पक्राउ पर्नेमा भारत, कलकत्ताका ४३ वर्षीय हविवुल सेख, ३९ वर्षीय सूर्यजित दास, ४० वर्षीय तमल साद्रा र १६ वर्षीय समिम सेख रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जेठ २६ गते साँझ ६:३० बजे विशेष सूचनाका आधारमा मुन्ना जेम एण्ड ज्वेलर्समा खानतलासी गर्दा विल भरपाई (बिलिङ) नभएका गरगहना फेला परेपछि अनुसन्धान सुरु गरिएको हो।
प्रहरीले विभिन्न थरिका नेक्लेस, लकेट, रिङ, चुरा, कानको बाला, टप, नाकको फुली, खुकुरी डिज़ाइनका गरगहना, ब्रासलेटलगायतका सामग्री बरामद गरेको छ। गहनाका अतिरिक्त विभिन्न बैंक खातासम्बन्धी कागजातहरू, नगद भुक्तानीका रसिद र चेकहरू पनि प्रहरीले बरामद गरेको छ।
पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।