
काठमाडौँ।
अहमदाबादमा भएको यात्रुवाहक विमान दुर्घटनाप्रति युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गहिरो दुःख व्यक्त गरेका छन्। उनले यस दुखद घटनामा भारतप्रति ऐक्यभाव प्रकट गर्दै सबै पीडितहरूप्रति समवेदना जनाएका छन्।
जेलेन्स्कीले ट्वीटरमार्फत लेखेका छन्, “भारतमा यात्रुवाहक विमान दुर्घटनाको खबर अत्यन्तै दर्दनाक छ। यस दुःखद घडीमा म प्रधानमन्त्री नरेन्द्र मोदी र सम्पूर्ण भारतीय जनताप्रति समवेदना प्रकट गर्दछु। भारत, बेलायत, पोर्चुगल र क्यानडाका सबै पीडित तथा तिनीहरूका परिवारप्रति हाम्रो गहिरो सहानुभूति छ। हामी यो कठिन घडीमा भारतसँग छौं।”
उनले थपे, “हामी सबैले प्रार्थना गरिरहेका छौं कि सकेसम्म धेरैको ज्यान जोगियोस् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस्।”
एयर इन्डियाको विज्ञप्तिअनुसार दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु तथा चालक दलका सदस्यहरू सवार थिए। तीमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, सात जना पोर्चुगिज, र एक जना क्यानेडियन नागरिक रहेको जनाइएको छ।
यो विमान दुर्घटना अहिले विश्वभर ध्यानको केन्द्र बनेको छ, र अन्तर्राष्ट्रिय समुदायबाट समेत समर्थन तथा समवेदना प्रकट भइरहेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।