काठमाडौं
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती खरिदका नाममा अनियमितता गरेको आरोपमा तत्कालीन गाउँपालिका अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारका अनुसार आर्थिक वर्ष २०७८\७९ मा सौर्य बत्ती जडान योजनाका लागि छुट्याइएको दुई करोड १६ लाख रुपियाँको बजेटलाई अनियमित ढंगले टुक्र्याएर पाँचवटा छुट्टाछुट्टै प्याकेजमार्फत खरिद प्रक्रिया अघि बढाइएको थियो ।
यस क्रममा स्वीकृत बजेटभन्दा ३७ लाख बढी रकम (कूल दुई करोड ५३ लाख १७ हजार २५० रुपियाँ) लागत अनुमान गरेर बोलपत्र आह्वान गरिएको आयोगले जनाएको छ ।
मुद्दा दायर गरिएकामध्ये गाउँपालिका तत्कालीन अध्यक्ष यादवसँगै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिवशंकर प्रसाद कुशवाहा, लेखापाल सञ्जय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब–इन्जिनियरहरू सन्तोष राय र राजु राय छन् ।
यसै गरी आयोगले ठेक्का लिएको स्काई राइज ट्रेडिङ कन्सर्न, एस.के. स्टोर्स र जियो टेक्निकल एन्ड इन्फ्रास्ट्रक्चर सोलुसन नेपालका सञ्चालकहरू जय प्रकाश यादव, रञ्जुकुमारी शाह र संगीता कुमारीविरुद्ध पनि मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिनुभयो ।
अख्तियारले सार्वजनिक बजेटमा बदनियतपूर्वक अनियमितता गरेर गैरकानुनी लाभ लिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐनअनुसार जरिवाना र कैद सजायको मागदाबी गरेको छ ।तत्कालीन पालिका अध्यक्ष यादवविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रुपियाँ र निमित्त प्रमुख प्रशासकीय अधिकृत साहविरुद्ध पनि सोही बिगो कायम गरिएको छ ।लेखा अधिकृत कुशवाहाविरुद्ध ४७ लाख ५९ हजार ५६०, लेखापाल ठाकुर, जिन्सी शाखा यादव र सब इन्जिनियरद्वयविरुद्ध २ करोड ४९ लाख ४० हजार ११० रुपियाँ नै बिगो कायम गरिएको छ ।

मधेस प्रदेशका सांसद सिंह अख्तियारको नियन्त्रणमा
जनता समाजवादी पार्टीका मधेस प्रदेश सांसद सरोज सिंह बिहीबार साँझ पक्राउ पर्नुभएको छ । उपभोक्ता समितिसँग बुझेको कमिसन श्रीमती र स्वकीय सचिवको खातामा राखेको पाइएपछि मधेस प्रदेशसभाका सदस्य सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो ।
विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाई श्रीमती र स्वकीय सचिवकै बैंक खातामा राखेर सरकारी रकम दुरुपयोग गरेको पाइएपछि अख्तियारले सिंहलाई काठमाडौंको वडा नं. १० स्थित रत्नराज्य विद्यालय क्षेत्रबाट पक्राउ गरिएको हो । उहाँमाथि अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।