
काठमाडौं ।
नेपालको निजी क्षेत्रको एक अग्रणी स्वास्थ्य संस्था नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । पोखरा निवासी ५६ वर्षीय ईश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गत जेठ ८ गते भएको हो । कार्कीलाई उहाँकै २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए ।
कलेजो प्रत्यारोपण स्वास्थ्य क्षेत्रमा अत्यन्तै जटिल र जोखिमपूर्ण शल्यक्रियामध्ये एक मानिन्छ । यस प्रक्रियामा अत्यधिक अनुभवसहितको चिकित्सकीय टोली, उच्च प्रविधि र समन्वय आवश्यक पर्ने भएकाले अधिकांश नेपाली बिरामी यसका लागि भारतलगायत अन्य मुलुक जान बाध्य हुँदै आएका छन् ।
नेपाल मेडिसिटीमा सम्पन्न प्रत्यारोपण भने सम्पूर्णरूपमा नेपालकै चिकित्सकहरूको नेतृत्वमा सम्पन्न गरिएको हो । अस्पतालले भारतको सुप्रसिद्ध अमृता अस्पतालसँगको सहकार्यमा कलेजो प्रत्यारोपण कार्यक्रम अघि बढाएको हो । यस प्रत्यारोपणमा डोनरको शल्यक्रिया ९ घण्टा र रिसिभरको शल्यक्रिया १३ घण्टासम्म चलेको थियो ।
कलेजो दाता आयुष कार्की भन्छन्– ‘हामी बुबाको उपचारका लागि दुईपटक भारत गएका थियौं । तर, त्यहाँको डाक्टरको परामर्शले हाम्रो मन बुझाएन । उल्टै हामी अझै डरायौं । ७ वर्षअघिदेखि नै नेपालमै मेडिसिटी अस्पतालमा देखाउँदै आएकाले पुनः मेडिसिटीमै फर्केर आवश्यक परामर्श लियौं र यहीँ प्रत्यारोपण गर्ने निर्णय गर्यौं ।’
आयुषका अनुसार डाक्टरहरूले कलेजो प्रत्यारोपण गरेपछि मिर्गौला पनि जोगाउन सकिन्छ भनेपछि निर्णय सजिलो बन्यो । ‘पहिले नै नेपालमै प्रत्यारोपण गर्ने निर्णय लिन सकेको भए धेरै समय र पैसा बच्थ्यो ।’ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख तथा वरिष्ठ कन्सल्ट्यान्ट डा. उमिदकुमार श्रेष्ठका अनुसार बिरामीको कलेजोसँगै मिर्गौला पनि बिग्रिसकेको थियो ।
कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहका अनुसार शल्यक्रियाअघि नै बिरामी र परिवारलाई जोखिमबारे स्पष्ट जानकारी दिइएको थियो । ‘कलेजोको असरले मिर्गौला बिग्रेको हो कि होइन भनेर परीक्षणपछि मात्र मिर्गौला प्रत्यारोपण गर्ने सहमति बनाइएको थियो’ –डा. साहले बताउनुभयो । अहिले कलेजो सफलतापूर्वक प्रत्यारोपण भइसकेपछि बिरामीको मिर्गौलामा समेत सुधार देखिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो भन्नुहुन्छ– ‘हामीले नेपाली नागरिकलाई उपचारका लागि विदेश जानु नपरोस् भन्ने सोचका साथ अस्पताल स्थापना गरेका हौं । यही सोचअनुसार यहाँ मल्टिडिसिप्लिनरी चिकित्सक टोली तयार पारिएको छ जसले जटिल शल्यक्रियालाई पनि सम्भव बनाएको छ ।’
नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार २०२३–२४ को एक वर्षको अवधिमा ७० जनाभन्दा बढी नेपाली नागरिकले भारतमा कलेजो प्रत्यारोपण गराएका छन् । कलेजो प्रत्यारोपण भारतमा ५० लाख भारुसम्म पर्छ । नेपालमा यो जटिल केशको शल्यक्रिया गर्दा ३५ लाखको हाराहारीमा खर्च भएको बताइएको छ ।
नेपाल मेडिसिटी अस्पतालले यस्ता बिरामीका लागि देशमै सेवा उपलब्ध गराउने उद्देश्य राखेको छ । हालसम्म अस्पतालमा ४५ जना बिरामीको मिर्गौला प्रत्यारोपण र ५ सयभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको अस्पतालले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।