
काठमाडौँ।
इरानले इजरेली आक्रमणको जवाफमा गयराती इजरेलतर्फ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। हमलापछि इजरेली सहरहरूमा बारम्बार साइरनका आवाज सुनिएका छन् भने राजधानी तेल अभिभ र जेरुसलेममा विस्फोटका आवाजहरू सुनिएको बीबीसीका संवाददाताहरूले जनाएका छन्।
तेल अभिभको आकाशमा कालो धुवाँ देखिएको छ भने जेरुसलेम लगायत अन्य सहरहरूमा पनि विस्फोटका आवाजहरू सुनिएको जनाइएको छ। इजरेली सञ्चारमाध्यमका अनुसार हमलामा परेर तीन जनाको मृत्यु भएको छ भने ४० जना उपचाररत छन्। तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
शनिवार बिहानैदेखि दुबै पक्षबीच आक्रमण र प्रत्याक्रमण जारी रहेको छ। तेहरानमा समेत विस्फोटका आवाजहरू सुनिएको पुष्टि भएको छ।
इरानका संयुक्त राष्ट्रसंघका लागि राजदूतका अनुसार शुक्रबारदेखि जारी इजरेली हमलामा वरिष्ठ सैन्य अधिकारीहरूसहित ७८ जनाको मृत्यु भएको र ३२० भन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ।
पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रमबारे सम्झौता गर्न आग्रह गरेका छन्। उनले सम्झौता नभए “अझ क्रूर” इजरेली आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।
इजरेली सेनाले केही क्षेप्यास्त्रहरू निस्तेज पारेको दाबी गर्दै प्रभावित स्थानहरूमा उद्धार टोलीहरू परिचालन गरिएको जनाएको छ। इजरेली सञ्चारमाध्यमका अनुसार हमलापछि दर्जनौँ व्यक्ति घाइते भएका छन्।
इरानको प्रतिआक्रमण इजरेलले गरेको अभूतपूर्व हवाई आक्रमणको जवाफमा भएको बताइएको छ। इजरेलले इस्फहान, फोर्डो र नटान्जस्थित युरेनियम प्रशोधन केन्द्रहरूमा हमला गरेको दाबी गरेको छ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइले इजरेलले युद्ध सुरु गरेको भन्दै जबाफमा ठूलो प्रहार गरिने चेतावनी दिएका छन्।
इजरेलमा प्रहारपछि तेहरानमा खुसीयाली मनाइएका तस्बिरहरू सार्वजनिक भएका छन्। इरानको इस्लामिक रिभोलुशनरी गार्ड्सले “ट्रु प्रमिस थ्री” नाम दिइएको कारबाही अन्तर्गत इजरेलका दर्जनौँ सैन्य अखडा र हवाई अड्डामा हमला गरिएको जनाएको छ।
तेहरानस्थित विमानस्थल क्षेत्रबाट विस्फोटपछि बाक्लो कालो धुवाँ उठेको देखिएको छ। अर्ध-सरकारी मेहर समाचार संस्थाले विमानस्थल क्षेत्रमा विस्फोट भएको पुष्टि गरेको छ।
बीबीसीका मध्यपूर्व सम्पादक सबास्टिअन असरका अनुसार पछिल्ला केही वर्षमा इरान कमजोर देखिए पनि उसले अभूतपूर्व इजरेली आक्रमणको स्पष्ट प्रतिक्रिया जनाउने क्षमता अझै राख्छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले यसलाई इतिहासकै सबैभन्दा ठूलो सैन्य कारबाहीहरूमध्ये एक भएको दाबी गर्दै इरानमाथि थप आक्रमणहरू जारी रहने चेतावनी दिएका छन्। उनले इरानी जनतालाई आफ्नो सत्ताविरुद्ध उठ्नसमेत आह्वान गरेका छन्। बीबीसीबाट
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।