
उदयपुर ।
उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं ३ भोर्लेनी गाउँका एक मानसिक रोगीलाई दस वर्षदेखि साङ्लोमा बाँधेर घरमा राखिएकोमा शनिबार उद्धारगरी उपचारकालागि बिराटनगरस्थित मानव सेवा आश्रममा राखिएको छ ।
धामी झाक्री लगाएर ३६ वर्षका पविन्द्र मगरको पहिले उपचार गराइएको तर निको नभएपछि उनी घर छाडेर हिड्ने गरेकोले घरमा साङ्लोले बाँधेर राखिएको छ । उनको हेरचाह पहिले बुवाले गर्दथे भने बुवाको निधनपछि आमाले गरिरहेको पाइएको छ ।
चौदण्डीगढी नपाका प्रमुख कालुमान लामा आफै पविन्द्रको घरमा गएर उनको अवस्था बुझेको र अवस्था दयनीय देखेपछि दस वर्षदेखि साङ्लोमा बाधिएको अवस्थाबाट उद्धार गरेर बिराटनगरस्थित मानव सेवा आश्रममा पठाएका छन् ।
चौदण्डीगढी नपा वडा नं ३ का वडाध्यक्ष पर्शुराम राईले करिब १४ वर्ष अघिदेखि नै पविन्द्र मानसिक बिरामी भएको र शुरुमा गाउँ घरमा धामीझाक्री लगाएर अवस्था बिग्रिएको हो । नगर अस्पतालमा लगेर जाँच गराइ औषधी दियएको भए पनि नियमित रुपमा औषधी खुवाउन नसक्दा मानसिक रोग निको नभएको वडाध्यक्ष राईले बताए ।
घरमा नगरपालिकाबाट औषधी लगियो तर नियमित रुपले औषधी खुवाउने मानिस नभएकोले समस्या भयो । हेरचाह गर्ने आमाले घरको काम, गाई बस्तुको हेरचाह घासपात लगायतका काम गर्नु पर्ने भएकोले औषधी खुवाउन नै बिर्सने गरेको वडाध्यक्ष रार्यले बताए ।
नगर अस्पतालले दिएको औषधी बाहेक अन्य औषधी खुवाएको छैन र ललितपुरस्थित लगनखेलमा रहेको मानसिक अस्पतालमा उपचारकालागि लैजान नसकेको जानकारी दिंदै वडाध्यक्ष राईले पविन्द्र पढनमा ज्यादै तेज थिए तर आडठ कक्षामा पढ्दा पढ्दै उनी विरामी भए । विपन्न परिवारको भएकोले समयमा उपचार गर्न नसक्दा उनको अवस्था दयनिय बन्दै गयो । एकोहोरो रुपले आफुमात्र बोल्ने र कतै गयो भने घर नआउने भएकोले बाँधेर राख्नु परेको वडाध्यक्ष राईले बताए ।
घरको जेठो छोरो पविन्द्रका बुवाको गत माघमा निधन भएपछि उनको हेरचाह अहिले ६० वर्षकी आमा एकमाया मगरले गरेको र उनको एक जना भाइ र दुई दिदी बहिनी रहेको अध्यक्ष राईले बताए ।
पविन्द्रको हेरचाहकालागि बिराटनगरस्थित मानव सेवा आश्रममा उनको भाइलाई पठाइएको र उनको खाने बस्ने र उपचारको जिम्मा मानव सेवा आश्रमले लिएको जानकारी दिंदै वडाध्यक्ष राईले पहिले नै धामी झाक्री नलगाई अस्पतालमा लगेको भए यो अवस्था हुँदैनथ्यो तर धामी झाक्री लाउँदा समस्या भएको बताए ।
चौदण्डीगढी नपाले यस अघि पनि वडा नं २ का शिवराज विश्वकर्मालाई खोरबाट उद्धार गरी मानव सेवा आश्रममा लगेर उपचार गेरकोमा हाल उनी सामान्य जीवन यापन गरिरहेका छन् भने उनलाई ९ वर्षसम्म खोरमा थुनेर राखिएको थियो ।
मानव सेवा आश्रमका नवराज केसीले पविन्द्रलाई केही समय आश्रममा राखेर उपचार गरिने र स्वस्थ्य भएछि मात्र घरमा पठाउने बताए ।
पविन्द्र जस्ता धेरै मानसिक रोगीको सफल उपचार भएको र अहिले स्वस्थ्य अवस्था रहेको जानकारी दिँदै केसीले पविन्द्रलाई मानसिक रोग विशेषज्ञ चिकित्सकको निगरानीमा राखेर उपचार गरिने बताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।