
काठमाडौंं ।
तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ ।
इरान–इजरायलबीचको द्वन्द्व झन बढ्दै गएको बेला पछिल्लो चेतावनी आएको हो । इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षले इजरायललाई चेतावनी दिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले इजरायलका दुई टेलिभिजनका हेड क्वार्टर खाली गर्न चेतावनी दिएको छ । इरानको राष्ट्रिय टेलिभिजनमा इजरायली आक्रमण भएको केही समयपछि इरानले यो चेतावनी दिएको हो ।
इरानले इजरायलको च्यानल १२ र च्यानल १४ मा आक्रमण गर्ने चेतावनी दिएको हो । इरानको राजधानी तेहरानमा रहेको राष्ट्रिय प्रसारण सेवाको भवनमा आक्रमण हुँदा एक सरकारी टिभी कर्मचारीको मृत्यु भएको छ । घटनाको भिडियोमा स्टुडियोमै मिसाइल प्रहार हुँदा समाचार प्रस्तोता बिचमै रोकिन परेको देखिएको छ ।
यसैबीच इरानी सञ्चार माध्यमले नातान्जमा सेनाको सक्रियता बढेको जनाएको छ । सोमबार राति नै इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ । यसको पूर्ण विवरण आइसकेको छैन । राष्ट्रसंघका लागि इरानी दूत अमिर सायद इरभानीले इरानको आत्मरक्षा गर्न पाउने अधिकार रहेको बताएका छन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि आफूहरू विजयको बाटोमा रहेको दाबी गरेका छन् ।
यसैबीच, क्यानडामा चलिरहेको जी–सेभेन सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलको समर्थन गरेका छन । उनले इरानलाई वार्ताको लागि आउन आग्रह गरेका छन । उनले तेहरानमा रहेका अमेरिकी नागरिकलाई तुरुन्त देश छाड्न आग्रहसमेत गरेका छन । इरानले कुनै पनि हालतमा आणविक हतियार राख्न नपाउने उल्लेख गरेका छन् ।
ट्रम्प ले जी सेभेन नेताहरूले इजरायल र इरानबीचको तनाव कम गर्न आह्वान गर्दै तयार पारेको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन । इरानको सरकारी विवरण अनुसार शुक्रबारदेखि इजरायलद्वारा शुुरु भएको हवाई आक्रमणमा अहिलेसम्म २ सय २४ जना मारिएका छन । इजरायली प्रधानमन्त्री नेतन्याहूको कार्यालयले इरानको जवाफी हमलामा इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।