
काठमाडौं ।
भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परी कम्तिमा डेढ दर्जन बढी नेपालीहरु बेपत्ता भएको जनाइएको छ ।
स्थानीय प्रशासनका अनुसार बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले प्रहरी प्रशासन गुहारेका छन् । आफन्तहरुले खोजी गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष अनुनय विनय गरेका छन् ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आफन्त र त्यहाँ रहेका नेपालीले सो घटनामा केही नेपालीहरु बेपत्ता भएको जानकारी दिएका हुन् । पौडेलले सो घटनामा ३ जना नेपाली घाइते भएको बताउनुभयो । ‘यसबारे मन्त्रालयमा जानकारी गराइसकिएको छ । दूतावासमार्फत समन्वय भइरहेको जानकारी पाएको छु’ –प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो ।
यसैगरी जाजरकोटको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बिहीबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाका १३ जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिनुभएको हो । ‘उक्त बाढी तथा पहिरोमा कुशे गाउँपालिका वडा नं. २ का करिब १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरु पनि सम्पर्कमा नरहेकाले हराएको हुनसक्ने जानकारी सामाजिक सञ्जालमार्फत प्राप्त भएको छ’, विज्ञप्तिमा भनिएको छ– ‘हराएकाहरुको खोजी तथा उद्दार कार्यलाई द्रुत र प्रभावकारी बनाउन कुनै कसर बाँकी नराख्न नेपाल सरकार, परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरिदिनका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ –उहाँले भन्नुभएको छ ।
सो स्थानमा बुधबार दिउँसो आएको ठूलो बाढीमा परी एक सय बढी बेपत्ता छन्, ५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तरकाशी जिल्लाको धराली बजारमा बाढीले सबैभन्दा बढी विनासलीला मच्चाएको थियो । धराली समुद्री सतहबाट झन्डै ३ हजार १ सय मिटरको उचाइमा छ । यो चारधाम यात्रा मार्ग पनि हो । यहाँबाट गंगोत्री करिब २० किलोमिटर टाढा छ । त्यसक्षेत्रमा सुदूरपश्चिमका धेरै नेपालीहरू काम गर्नका लागि जाने गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।