
कास्की ।
पोखराका तालहरूको सरसफाइ तथा जलकुम्भी झार हटाउन महानगरपालिकाले निजी कम्पनीसँग साझेदारी गरेको छ । पोखराकै व्यावसायिक प्रतिष्ठान लक्ष्मी ग्रुपसँग बिहीबार समझदारीपत्रमा हस्ताक्षर गर्दै तालहरूको सरसफाइको जिम्मेवारी लक्ष्मी ग्रुपले लिएको छ । ग्रुपले तालहरूमा वर्षेनी फैलिने जलकुम्भी झारलाई रोजगारीसँग जोड्ने उल्लेख गरेको छ ।
समझदारीपत्रमा हस्ताक्षरपछि लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले तालहरूमा अत्यधिक बढेको लेउ, जलकुम्भी झारको प्रकोप र प्रदूषणका कारण तालहरूको संरक्षण र विकासमा चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै तालहरूको दिगो संरक्षण पर्यावरणीय सन्तुलन तथा रोजगारी सिर्जनामा योगदान गर्ने उद्देश्यसहित लक्ष्मी ग्रुपले महानगरपालिकासँग साझेदारी गरिएको बताउनुभयो । ‘पोखरा महानगरपालिकासँग लक्ष्मी ग्रुपले सामाजिक उत्तरदायित्वअन्तर्गत पोखराको पर्यावरण संरक्षण र सामुदायिक सशक्तीकरणमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धताअनुसार तालहरूको सरसफाई र रोजगारी सिर्जना गर्ने समझदारी गरेका हौं’ – उहाँले भन्नुभयो ।
लक्ष्मी ग्रुपले खास गरी पोखराका तालहरूबाट जलकुम्भीबाट रोजगारी सिर्जना गरिने जनाएको छ । जलकुम्भीलाई तालबाट झिकेर सुकाई हस्तकलाका सामान बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो । रोजगारीको लागि लक्ष्मी ग्रुपले गण्डकी बहुप्राविधिक शिक्षालयसँग सहकार्य गर्ने उल्लेख गरेको छ । ‘गण्डकी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई इन्र्टनसिप र व्यवसायिक प्रशिक्षण प्रदान गरी रोजगारी एवं उद्यमशिलतातर्फ आकर्षित गर्ने छौं ।’ –लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निरञ्जन श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सीमान्तकृत महिलालाई सीपमुलक तालिम दिइने छ । विश्वविद्यालयसँग सहकार्य गरी लक्ष्मी ग्रुपअन्तर्गतकै लक्ष्मी फाउन्डेसनबाट सीपमूलक तालिम प्रदान गरिनेछ ।
लक्ष्मी ग्रुपले समझदारीको पहिलो ६ महिना परीक्षणकाल हुने उल्लेख गरेको छ । परियोजना ५ वर्षको हुने छ । पहिलो परीक्षण कालको समयमा ग्रुपले पोखराकै न्युरेनी ताल सरसफाइबाट थालनी गर्ने जनाएको छ । ‘जल प्रणालीमा कुनै हानि नहुने गरी पोखराकै कुनै एक सानो तालबाट सरसफाई कार्यक्रम शुरू गरिने छ ।’ –ग्रुपका अध्यक्ष श्रेष्ठले भन्नुभयो । उहाँले तालमा बढ्दै गएको लेउको वृद्धिले प्रदूषण बढेको औंल्याउँदै स्विस प्रविधिअनुसार ताल सरसफाई गरिने बताउनुभयो । ग्रुपले देश विदेशबाट अत्याधुनिक प्रविधि भित्रयाउने, ताल सरसफाई र जलकुम्भी प्रशोधनका लागि आवश्यक वित्तीय स्रोत, उपकरण र प्राविधिक विज्ञ परामर्शदाता तथा जनशक्तिलगायतको व्यवस्थापन, हस्तकलाका सामाग्रीहरूको उत्पादन र प्रशोधनको लागि आवश्यक तालिम तथा प्रशिक्षण दिने छ ।
पोखरा महानगरपालिकाले दिगो विकासको लागि ऊर्जा योजना सार्वजनिक गरिसकेको छ । ऊर्जा योजनालाई लक्षित गर्दै घरहरू धुवाँरहित बनाउने अभियानलाई लक्ष्मी ग्रुपले हातेमालो गरेको छ । पोखरामा १ लाख ४८ हजार घरधुरी रहेको पोखरा महानगरपालिकाले उल्लेख गरेको छ । जसमध्ये २८ हजार घरमा अझै पनि खाना पकाउन दाउरा प्रयोग हुँदै आएको छ । दायरालाई विस्तापित गर्दै घरलाई धुँवारहित बनाउन लक्ष्मी ग्रुपले इन्डक्सन चुल्हो निःशुल्क वितरण गर्नेसमेत जानकारी गराइयो । चुल्हो वितरणको लागि पोखरा महानगरका वडाहरूले सिफारिस गर्ने छन् ।
समझदारी पत्रमा हस्ताक्षरपछि बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ताल सरसफाइको अभियान खास्टे वा न्युरेनी तालबाट शुरू गरिने उल्लेख गर्नुभयो । पहिलो चरणको कार्यक्रमपछि मात्रै अन्य कार्यक्रम अघि बढ्ने छ । ‘ताल सरसफाइ, सीपमूलक तालिम र निःशुल्क इन्डक्सन चुल्हो वितरणमा पोखरा महानगरपालिकालाई कुनै आर्थिक भार पर्ने छैन् ।’ –महानगरप्रमुख आचार्यको भनाइ थियो । उहाँका अनुसार ग्रुपले गर्ने कामलाई महागरपालिकाले प्राविधिक गुणस्तरको अनुगमन तथा मूल्यांकन गर्ने छ । ग्रुप स्थापनाको ५१औं वर्ष प्रवेश गरेको अवसरमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।