
धादिङ ।
जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये १ सय ३३ जनालाई धादिङ प्रहरीले पक्राउ गरी पुनः सम्बन्धित कारागारमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालको नेतृत्वमा खटिएको टोलीले जिल्लाभित्र लुकेर बसेका तथा धादिङ हुँदै अन्य जिल्ला प्रवेश गर्ने तयारीमा रहेका कैदी–बन्दीलाई नियन्त्रणमा लिन सफल भएको हो ।
एसपी रिजालले जिल्लालाई भयमुक्त बनाउन निरन्तर ‘अपरेसन’ चलाइएको जानकारी दिँदै भन्नुभयो– ‘जेन–जी आन्दोलनकै बीचमा पनि धादिङलाई सुरक्षित राख्न सफल भएका छौं । नेपालीहरूको महान चाडमा त्रास सिर्जना नहोस् भनेर विशेष सुरक्षा योजना लागू गरेका छौं ।’
धादिङ हुँदै देशका विभिन्न स्थानमा आवतजावत गर्ने यात्रु सुरक्षाबारे निश्चिन्त हुन सक्ने वातावरण बनाउन प्रहरीले चेकजाँच, गस्ती र सूचनाको जालो बलियो पारेको छ ।
एसपी रिजालका अनुसार धादिङ हुँदै काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने यात्रुहरूको सुरक्षामा प्रहरी थप संवेदनशील भएको छ । कैदीबन्दी नियन्त्रणमात्र होइन, यात्रुको मनोबल उच्च बनाउन हाम्रो प्राथमिकता हो, उहाँले भन्नुभयो ।
धादिङ प्रहरीले पछिल्लो चरणमा कडाइका साथ चेकजाँच गर्ने, रात्री गस्ती बढाउने र नाका तथा नजिकका बस्तीमा सूचनाको आधारमा टोली परिचालन गर्ने गरेको छ । यसका कारण स्थानीयमा सुरक्षाप्रतिको विश्वास बढेको जनाइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।