०९ कात्तिक , काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वले नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपतिको शुभकामना सन्देश
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि छठ पर्वको पावन अवसरमा शुभकामना दिनुहुँदै पवित्र छठ पर्वको माध्यमबाट नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र बलियो एकता अभिवृद्धि हुँदै जाने बताउनुभएको छ ।
शुभकामना सन्देशमा उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र नेपाल विविध धर्म संस्कृतिले अत्यन्त धनी रहेको उल्लेख गर्दै अनेक संस्कार संस्कृतिले प्राकृतिक रुपमा सुन्दर नेपाललाई झनै सुन्दर बनाएको बताउनुभएको छ ।
रासस