१२ कात्तिक , धादिङ – शनिवार बिहान धादिङको गजुरी गाउँपालिकास्थित त्रिशुली नदीमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख १४६७ नम्बरको यात्रुबाहक बस त्रिशूलीमा खस्दा मृत्यु हुनेमा अधिकांश सप्तरीकै भएकाले दिनभरि सिङ्गो जिल्ला शोकमग्न रह्यो ।
सप्तरी प्रहरीका अनुसार सनाखत भएका ३१ जना मध्ये २४ जना सप्तरीकै रहेका छन् । यस्तै सप्तरीकै दुई जना वेपत्तासमेत छन् । मृत्यु हुनेमा अधिकांश एकै परिवारका छन् । बस दुर्घटनामा परी मृत्यु हुनेहरु मध्ये १२ जना पुरुष, ७ महिला, ६ बालक र ६ बालिका रहेका छन् ।
तिलाठीका पण्डित रमानाथ झाले उक्त दुर्घटनामा आफ्ना दुई छोरा, एक बुहारी, दुई नातीसहित परिवारका ८ जनालाई गुमाए । तिहार–छठ सकेर घरबाट काठमाडौँ जाने क्रममा पण्डित झाका ३८ वर्षीय जेठो छोरा संजित, ३५ वर्षीया बुहारी सिमी, नातिहरु १० वर्षीय अभिनव र ४ वर्षीय प्रतिक, ३३ वर्षिय कान्छो छोरा अंजितको उक्त दुर्घटनामा मृत्यु भएको हो ।
जेठो छोरा सन्जितकी २२ वर्षीया साली पूजा, १९ वर्षीय सालो आदित्य र ७४ वर्षिया जेठी सासु चन्द्रवाती झाको पनि सोही दुर्घटनमा निधन भएको हो । यी मध्ये पूजा र प्रतिकको शव अझ फेला पर्न सकेको छैन । सन्जित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौँ तहमा कार्यरत रहेको तिलाठी–कोइलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले बताए ।
यो खबर आजको नयाँ पत्रिकामा छ ।